कालीगण्डकी नदी कटान हेर्न गएका ५५ वर्षीय व्यक्तिको खसेर मृत्यु


२०८३ असोज १२ सोमबार ०८:४१ बजे
फाइल फोटो

बागलुङ : अविरल वर्षापछि बढेको कालीगण्डकी नदीको बहाव र कटानको अवस्था हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको नदीको बहाव तथा कटान हेर्ने क्रममा ढिकबाट लडेर मृत्यु भएको हो।

आइतबार बेलुका बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा कालीगण्डकी नदीले गरिरहेको कटान हेर्ने क्रममा गोतामे ढिकबाट खसेका थिए। 

गम्भीर अवस्थामा भेटिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।

अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि पर्वतको जलजला क्षेत्रस्थित फर्से गाउँ र बागलुङको ढोडेनी क्षेत्रमा नदीले कटान गरिरहेको छ। नदीको बहाव बढेसँगै आसपासका क्षेत्रमा जोखिमसमेत बढेको छ।

यसैबीच, बागलुङमा लगातारको वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। पछिल्लो दुई दिनमा मात्रै जिल्लामा पहिरोका कारण ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।

आइतबार मात्रै नौ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। यसअघि शनिबार पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।

आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए। त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ।

लगातारको वर्षासँगै नदीको बहाव बढ्नु र पहिरो जाने क्रम जारी रहेकाले जिल्लाका जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७