बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

उद्धारसँगै राहत ढुवानी र अवरुद्ध सडक खुलाउने काम तीव्र


२०८३ असोज १२ सोमबार ०८:५१ बजे

काठमाडौं : अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहतमा नेपाली सेनाले आफ्नो परिचालनलाई निरन्तरता दिएको छ। 

सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण र अवरुद्ध सडक खुलाउने काम एकसाथ अघि बढाएको जनाएको छ।

सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरोका कारण जोखिममा परेका ७८ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 

उनीहरूलाई सोही गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयमा लगेर राखिएको छ। 

यसैगरी, पर्वत, म्याग्दी र बागलुङबाट थप ६०२ जनालाई जमिनमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ। पाल्पामा पनि कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पानी पस्न थालेपछि सेनाको टोली परिचालन गरिएको छ। 

रामपुर नगरपालिका–४ वडाबानघाटमा नदी बस्तीमा पसेपछि दि फेमस महिन्द्र दल गणबाट फौज परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि जारी छ। सेनाको हेलिकप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–मुक्तिमार्ग विद्यालय, बागलुङको तमानखोला गाउँपालिका–सोलेडाँडा र पर्वतको जलजला गाउँपालिका गरी तीन स्थानमा ९७९ किलो राहत सामग्री ढुवानी गरिएको छ।

यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका–८ भगरियामा पहिरोका कारण अवरुद्ध भएको जोगबुडा–बुडर सडकखण्ड सेनाले खुलाएको छ। 

अर्जुनबाण गण, जोगबुडाबाट परिचालित सेनाको टोलीले सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको हो।

रौतहटमा भने बढ्दो नदीको बहावबाट सम्भावित जोखिम कम गर्न सेनाले पूर्वतयारी तथा संरक्षणको काम गरेको छ। 

मौलापुर नगरपालिका–१ मर्यादापुरस्थित लालबकैया नदीमा पानीको बहाव बढेपछि नारायणदल गणबाट परिचालित फौजले करिब ८० मिटर बाँध थप मजबुत बनाएको सेनाले जनाएको छ।

यसैबीच, जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। भवानीदल गण, जाजरकोटबाट परिचालित सेनाको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो।

वर्षाका कारण जोखिममा परेका बस्तीमा उद्धार तथा स्थानान्तरणसँगै सडक र संरचना संरक्षणका कामसमेत भइरहेको सेनाले जनाएको छ। 

प्रभावित क्षेत्रको अवस्था हेरेर आवश्यकताअनुसार थप फौज परिचालन गर्ने क्रम जारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७