पहिरोले म्याग्दीमा ६ को मृत्यु, तीन बेपत्ता
म्याग्दी : लगातार चार दिनको वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा ठूलो क्षति पुर्याएको छ। पहिरोमा परी जिल्लामा ६ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिकामा चार जना र मालिका गाउँपालिकामा दुई जनाको शव फेला परेको छ।
अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा, ५६ वर्षीया दोमाया गर्बुजा र पाँच वर्षीया जेनी पुनको शव भेटिएको छ।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन चोचाङ्गीको पनि शव फेला परेको छ।
मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएर किरन पुन र देवबहादुर पुनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
यसैगरी पहिरोमा परेर तीन जना भने बेपत्ता छन्।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २२ वर्षीय मनोज गर्बुजा, बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी ३६ वर्षीया कुमारी वली विक र अन्नपूर्ण गाउँपालिका–३ फगामकी युमाया पाइजा बेपत्ता रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा उद्धार र खोजी प्रभावित भएको छ।
विद्युत्, सञ्चार तथा सडक सञ्जाल अवरुद्ध हुँदा घटनास्थलबाट सूचना लिन र सुरक्षाकर्मी तथा उद्धार टोली पुग्नसमेत कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
यसैबीच, पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत शिखघार ल्याएर सुरक्षित स्थानमा राखिएको छ।
उनीहरूका लागि अस्थायी शिविरमा आवश्यक राहत सामग्रीको समेत व्यवस्था गरिएको छ।
बाढीपहिरोका कारण म्याग्दीको यातायात सञ्जालसमेत प्रभावित भएको छ भने, बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन्।
पर्वतको मालढुंगा क्षेत्रमा कालीगण्डकी नदीमाथिको सडक पुलको पहुँचमार्गमा क्षति पुगेको छ भने सहस्रधारामा सडक कटान भएको छ।
जसका कारण म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा, काठमाडौंलगायतका प्रमुख सहरसँगको यातायात सम्पर्क प्रभावित भएको छ।
प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार सोमबार दिउँसोदेखि वर्षा रोकिएको छ र नदीको बाढीको सतह पनि घट्दै गएको छ।
सडक, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायले पहल गरिरहेको उनले बताए।
.gif)

.png)


