पहिरोले घर पुरिँदा पाल्पामा दुईको मृत्यु
बस्ती र पुलसमेत जोखिममा
पाल्पा : दुई दिनदेखि जारी अविरल वर्षाले पाल्पामा बाढी र पहिरोको जोखिम बढाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातारको वर्षासँगै ग्रामीण बस्ती, सडक, खेतबारी तथा नदी आसपासका क्षेत्रमा जोखिम बढेको हो।
पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
ठिमुरेमा पहिरोले घर पुरिएपछि बेपत्ता भएकी कृष्णकुमारी सारुको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी नायब उपरीक्षक विमल भट्टराईले जानकारी दिए। पहिरोले घर पुरिएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
यसैगरी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका शेरबहादुर चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बस्तीसमेत जोखिममा परेका छन्।
लगातारको वर्षाले पाल्पामा पहिरोसँगै नदीमा बाढीको जोखिमसमेत बढाएको छ। कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ।
कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको उक्त पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
कालीगण्डकीमा पानीको बहाव बढेपछि आसपासका तल्लो तटीय क्षेत्रमा समेत सतर्कता बढाइएको छ।
बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ। झडेवा फाँटलगायतका क्षेत्रमा पानी पसेपछि धानबालीमा समेत क्षति पुग्ने अवस्था देखिएको छ।
उता माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार थप जोखिममा परेका छन्।
जमिन चिरिएसँगै प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष यम चिदीले जानकारी दिए। लगातारको वर्षाका कारण पाल्पाका नदी तथा खोलानालामा पानीको सतह बढिरहेको छ।
बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
.gif)

.png)


