बाढीपहिरोले रोकिएको सडक खुलाउन तीव्रता, केही सडकमा एकतर्फी यातायात


२०८३ असोज १२ सोमबार ०७:४९ बजे

काठमाडौं : लगातारको वर्षा रोकिएपछि बाढी र पहिरोका कारण अवरुद्ध बनेका प्रमुख राजमार्ग तथा सडकखण्ड खुलाउने काम तीव्र पारिएको छ। 

सडकमा थुप्रिएको पहिरो, ढुंगा र गेग्रान हटाउँदै यातायात सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। काठमाडौं उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने मुख्य सडकहरूलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। 

सम्बन्धित निकायले आज दिउँसोसम्म उपत्यकासँग जोडिएका प्रमुख सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

गत बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी प्रवेश गर्ने तथा बाहिरिने मुख्य मार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशभरका दर्जनौँ सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध भएका थिए।

मौसममा सुधार आएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलाएर पोखरातर्फ जाने सवारीसाधन सञ्चालनमा ल्याइएको छ। 

मुग्लिन–काठमाडौं खण्डका अधिकांश स्थानमा पहिरो हटाइसकिए पनि केही ठाउँमा अझै एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेका छन्।

यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा आइतबार साँझ ठूलो ढुंगासहित पुनः पहिरो खसेपछि सडकमा दुवैतर्फको यातायात पूर्ण रूपमा रोकिएको थियो। 

रातको समयमा पहिरो हटाउने काम जोखिमपूर्ण भएपछि रोकिएको कार्य सोमबार बिहानैदेखि पुनः सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पानीधाराको अवरोध हटेपछि काठमाडौं आउने–जाने मुख्य सडक केही सहज हुनेछ। 

यद्यपि कृष्णभिर क्षेत्रको सडकको अवस्था निरीक्षण गरेपछि मात्रै पूर्ण रूपमा सवारीसाधन सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ। बाढीपहिरोबाट प्रभावित अन्य प्रमुख सडकखण्डमा पनि अवरोध हटाउने काम जारी छ। 

कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरको मूलघाट–फिदिम खण्ड, राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डमा पहिरो र गेग्रान हटाउने काम भइरहेको छ।

सडक अवरुद्ध भएका स्थानमा आवश्यकताअनुसार वैकल्पिक डाइभर्सन निर्माण गरेर भए पनि यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरूले बताएका छन्।

लगातारको वर्षाका कारण लामो समयदेखि अवरुद्ध सडक खुलाउन मौसममा आएको सुधारले सहजता थपेको छ। 

यद्यपि पहिरो प्रभावित कतिपय स्थानमा सडकको अवस्था परीक्षण गरेर मात्रै सवारी सञ्चालन गर्नुपर्ने भएकाले पूर्ण रूपमा यातायात सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७