साउदीलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं : साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। क्लालाम्पुरस्थित वायुमास ओभलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै नेपालले समूह चरणको एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
नेपालका लागि गुल्शन झाले अविजित ४४ रन बनाए। रोहित पौडेल २४ रनमा नटआउट रहे। ईशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए। साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद शेखले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।
.gif)

.png)

