बेपत्ताको १२ वर्षे कानुनी व्यवस्थाले पीडित झन् अन्योलमा : गगन थापा


२०८३ भदौ २१ आइतबार १६:३२ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई भौतिक राहत र पुनर्निर्माणसँगै कानुनी सहजता र भावनात्मक सहानुभूतिको आवश्यकता रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नुवाकोट र रसुवाको स्थलगत भ्रमणको अनुभव सुनाउँदै थापाले विपद्बाट प्रभावित परिवारले भोगिरहेको पीडा र समस्यालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।

उनका अनुसार बाढीबाट धेरै परिवारले आफ्ना सदस्य गुमाएका छन् भने कतिपय परिवार नै सखाप भएका छन्। सडक सञ्जाल विच्छेद हुँदा बेत्रावती, उत्तरगया, स्याफ्रुबेँसी, नौकुण्ड र गुम्बाडाँडालगायतका क्षेत्रमा राहत तथा उद्धारमा समेत कठिनाइ भइरहेको उनले बताए। 'यो साधारण विपद् मात्र नभएर महाविपत्ति हो। हामी अन्तिम माइलसम्म पुगेर पीडित नागरिकको साथमा रहन्छौँ', थापाले भने, 'पुनर्स्थापना र पुनर्निर्माण त चाहिन्छ नै, तर त्योभन्दा बढी नागरिकलाई करुणा र सहानुभूतिको खाँचो छ।'

थापाले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले कानुनी प्रावधानका कारण थप समस्या भोग्नुपर्ने अवस्था रहेको समेत बताए। मुलुकी देवानी संहितामा रहेको व्यवस्थाअनुसार लामो समयसम्म बेपत्ता रहेको व्यक्तिलाई तत्काल मृत घोषणा गर्न नसकिने भएकाले पीडित परिवार अन्योलमा परेको उनको भनाइ छ। बेपत्ता आफन्तको मृत्यु संस्कार गर्न नपाउने तथा सरकारी सुविधा र सम्पत्तिसम्बन्धी अधिकार प्रयोग गर्नसमेत समस्या हुने अवस्था रहेको भन्दै उनले तत्काल कानुनी सुधार आवश्यक रहेको बताए।

उनले बेपत्ता व्यक्तिको मृत्यु प्रमाणित गर्ने प्रक्रिया सहज बनाउन कानून संशोधन गरी स्थानीय तहलाई समेत मृत्यु प्रमाणित गर्न सक्ने अधिकार दिनुपर्ने धारणा राखे। थापाले विपद्पछिको उद्धार र राहतमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे। प्रभावित नागरिकसम्म राज्यको उपस्थिति पुर्‍याउन आवश्यक परे थप स्रोत र शक्ति परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७