आफ्नो ज्यान जोगाउन निर्वाचन आयोगका प्रमुखले गगन थापालाई आधिकारिकता दिए : देउवा

‘रुख चिह्न र चारतारे झण्डा हामीले पाउँछौं’


२०८३ भदौ २४ बुधबार १९:५३ बजे

काठमाडौं :नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। १३३ औँ बीपी जयन्तीका अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको उल्लेख गर्दै अन्ततः नेपाली कांग्रेसको रुख चिह्न र चारतारे झण्डा आफूहरूले नै पाउने दाबी गरे।

‘सर्वोच्च अदालतमा यिनीहरू जतिसुकै धाए पनि सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। जसरी निष्पक्ष रूपमा हामीलाई निस्सा दिएको छ, त्यसरी नै रुख चिह्न र चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ भन्ने विश्वास लिएको छु,’ देउवाले भने, ‘जतिसुकै जे गरे पनि सर्वोच्चले न्याय दिनेछ भन्ने विश्वास छ।’

सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको आधाभन्दा बढी विजय भइसकेको देउवाको भनाइ छ। ‘पुनरावलोकनले हामीलाई निस्सा दियो। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ उनले भने।

देउवाले पार्टीको आधिकारिकता आफूहरूको पक्षमा आउन नदिन गगन थापा पक्षबाट विभिन्न प्रयास भइरहेको आरोपसमेत लगाए। त्यस्ता प्रयास आफूहरूलाई कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ छ। ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ। तर, हामी कुनै हालतमा मान्दैनौँ,’ उनले भने।

सर्वोच्च अदालतप्रतिको आफ्नो विश्वासको प्रसंग जोड्दै देउवाले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शासनकालमा अदालतबाट आफूले न्याय पाएको स्मरण गरे।

राजा ज्ञानेन्द्रले आफूलाई जेलमा राखेका बेला सर्वोच्च अदालतप्रति समेत आशंका लागेको उनले बताए। ‘राजा ज्ञानेन्द्रले जेल हाल्दाखेरि अदालतबाट मैले आशा मारिसकेको थिएँ। मैले श्रीमतीलाई बोलाएर भनेँ, हेर, सर्वोच्च पनि राजासँग डराउँछ होला। छोरालाई पढाउनू, मलाई १०–१२ वर्ष हाले हाल्छ भनेँ,’ विगत सम्झिँदै देउवाले भने, ‘तर सर्वोच्च अदालतले राजा ज्ञानेन्द्रको खिलाफमा उसैबेला मलाई बचाएको हो। त्यसकारण सर्वोच्च अदालतप्रति मलाई विश्वास छ।’

देउवाले कांग्रेसमा जारी विवादको अर्को विषय विशेष अधिवेशनबारे पनि आफ्नो धारणा राखे। उनले पार्टी विधानमा विशेष अधिवेशन बोलाउने व्यवस्था भए पनि त्यसका लागि प्रतिनिधिको विधिवत् सनाखत आवश्यक हुने बताए। विगतमा सुवर्णशमशेर राणाको सभापतित्वमा विशेष अधिवेशन बोलाइएको स्मरण गर्दै उनले त्यसबेला प्रतिनिधिहरूको पूर्ण सनाखत गरिएको दाबी गरे।

‘विधानमा विशेष अधिवेशन बोलाउने प्रावधान छ। विशेष अधिवेशन पार्टीले बोलाउने हो। सुवर्णशमशेर पार्टी सभापति हुँदाखेरि पहिले विशेष अधिवेशन बोलाइएको हो। बीपी कोइराला पनि हुनुहुन्थ्यो। सबै एकता भएर, एक भएर बोलाइएको हो,’ देउवाले भने, ‘त्यसमा पूरा सनाखत गराएर को हो, को होइन भनेर प्रतिनिधि बोलाइएको थियो।’

तत्कालीन महामन्त्री गगन थापाले प्रतिनिधिको सनाखत नगरी विशेष अधिवेशन बोलाएको देउवाको आरोप छ। ‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्‍यो भन्नुभयो। विशेष अधिवेशन बोलाउने अधिकार पार्टीमा छ। तर त्यसका लागि को–को भाग लिने हो, उसको सनाखत हुनुपर्‍यो। कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सबै चाहियो, सनाखत हुनुपर्‍यो,’ उनले भने,‘बिना सनाखत गर्न पाइन्छ? अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। मलाई थाहै नदिई बोलाउन पाइन्छ?’ 

उनले थापा पक्षले ‘खल्तीबाट नाम राखेर’ विशेष अधिवेशन बोलाएको आरोपसमेत लगाए। विशेष अधिवेशनको विषयमा आफूहरूले निर्वाचन आयोगमा उजुरी दिएपछि तत्कालीन कार्यवाहक प्रमुखले ‘ज्यानको खतरा’ रहेको भन्दै निर्णय लिएको देउवाको दाबी छ।

‘ज्यानको खतरा भएर गर्नुपर्‍यो भनेको उसले बोलेको छ। मैले भनेको होइन, सबैले सुनेको कुरा हो यो,’ देउवाले भने, ‘भन्दाखेरि ज्यानको खतरा, त्यत्रो त्रास। सिधा डरायो त्यो निर्वाचन आयोगको प्रमुख।’ त्यसपछि आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यतिबेलासम्म चुनावसमेत भइसकेकाले के गर्ने भन्ने अवस्था आएको देउवाले बताए। ‘पहिले भएको भए हुन्थ्यो भन्यो। अति भयो नि भनेपछि पुनरावलोकनमा गयौँ,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७