गगन थापालाई पूर्णबहादुर खड्का समूहको साथ
खड्का पक्षलाई समेट्दै कांग्रेस महाधिवेशन, गगनले बोलाए बैठक
काठमाडौं : कांग्रेसको १५ औँ महाधिवेशनमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सहभागी हुने भएको छ। आफ्ना माग सम्बोधन गर्न सभापति गगन थापा पक्ष तयार भएपछि खड्का पक्ष महाधिवेशनमा सहभागी हुन सहमत भएको हो।
खड्का पक्षका माग सम्बोधन गर्न थापाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। खड्काले गत वैशाखमा पार्टी एकताका लागि आठबुँदे माग अघि सारेका थिए। विशेष महाधिवेशनपछि बाहिर परेका तत्कालीन पदाधिकारी तथा केन्द्रीय सदस्यको समायोजन र १० पुस २०८२ सम्म नवीकरण भएका सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउनुपर्ने उनको मुख्य माग थियो।
विशेष महाधिवेशनपछि बाहिर परेका देउवा, खड्का र कोइराला पक्षका गरी १११ जना नेताको समायोजनको विषय पनि टुंग्याउने तयारी छ। आयोजक, निर्वाचन, विधान मस्यौदा र अनुशासन समितिमा सबै पक्षलाई समेट्ने विषयमा समेत सहमति जुटाउने तयारी गरिएको छ।
खड्का पक्षका नेता श्याम घिमिरेले माग सम्बोधन गर्ने औपचारिक निर्णय भएपछि तत्कालीन कार्यसमितिका करिब ४० जना केन्द्रीय कार्यसमितिमा समाहित हुने बताए। खड्का भने आफूविरुद्धको मुद्दा पुनरावलोकन प्रक्रियामा रहेकाले महाधिवेशनमा सहभागी नहुने उनले बताए। देउवा–खड्का पक्षका ३१ नेताले शुक्रबार पार्टी एकताका लागि अपिल गरेपछि सभापति थापासँग छलफल भएको र महाधिवेशनमा सहभागी हुने वातावरण बनेको नेता जीवनबहादुर शाहीले बताए।
यता, शेखर कोइराला पक्षले भने अझै निर्णय गरेको छैन। पूर्वसभापति शेरबहादुर देउवा एकतामा नआए आफू पनि तटस्थ बस्ने मनस्थितिमा कोइराला रहेको उनीनिकट नेता बद्री पाण्डेले बताए।
महामन्त्री प्रदीप पौडेलले आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महाधिवेशनको प्रक्रिया र सबै पक्षलाई समेट्ने विषयमा आवश्यक निर्णय हुने बताए। कांग्रेसले ३ र ४ असोजमा वडा अधिवेशन तथा १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका बनाएको छ।
उता, संस्थापन पक्ष महाधिवेशनमा अघि बढेपछि देउवा पक्षले समानान्तर महाधिवेशन गर्ने निर्णय गरेको छ। उसले १५ असोजदेखि वडा अधिवेशन सुरु गरी २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका बनाएको छ।
.gif)

.png)

