प्रिमियर कपको उपाधिसँगै नेपाल एसिया कपमा

यूएईलाई ४४ रनले हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन


२०८३ भदौ २७ शनिबार १५:४३ बजे

काठमाडौं :  एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा २६८ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपडाले शतक बनाए। उनले १०५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा १०० रन पूरा गरे। त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए।

गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३ तथा सन्दीप जोराले ७ रन बनाए। करण केसी र ललित राजवंशीले १–१ रन जोडे।

यूएईका लागि इब्रार अहमदले ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले १–१ विकेट लिए। एसिया कप अर्को वर्ष बंगलादेशमा आयोजना हुँदैछ।

आयोजक बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान यसअघि नै प्रतियोगिताका लागि छनोट भइसकेका छन्। एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपालले पनि प्रतियोगितामा स्थान बनाएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७