यूएईविरुद्ध आसिफको शतक, जितनजिक नेपाल
काठमाडौं : एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा आसिफले १०३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो शतक हो।
आसिफको सानदार ब्याटिङमा नेपालले यूएईविरुद्ध बलियो प्रदर्शन गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ।
फाइनलका लागि नेपालले देव खनाल र शेर मल्ललाई विश्राम दिँदै अर्जुन कुमाल र सन्दीप जोरालाई प्लेइङ–११ मा समेटेको छ। जारी प्रतियोगितामा जोराले पहिलोपटक खेल्ने अवसर पाएका हुन्।
फाइनल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र यूएई दुवै दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।
नेपाल सन् २०२३ र यूएई सन् २०२४ को संस्करणका विजेता टोली हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १९ खेल भएका छन्। जसमा नेपालले ११ र यूएईले ८ खेलमा जित हात पारेका छन्।
.gif)

.png)

