हिमाली विपद्को जोखिम बढ्दैछ, नेपाल–चीन मिलेर सामना गर्नुपर्छ : चिनियाँ राजदूत

‘जलवायु परिवर्तनको सामना कुनै देशले एक्लै गर्न सक्दैन’


२०८३ भदौ २७ शनिबार १५:१९ बजे

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै राजदूत झाङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै एक मुलुकले मात्र गर्न नसक्ने बताए।

हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

विपद्का बेला चीनले नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्त्व देखाएको उल्लेख गर्दै राजदूत झाङले भोटेकोसी बाढीपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत राहत सामग्री उपलब्ध गराएको जानकारी दिए।

विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको उनले बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई बलियो बनाउनुपर्ने राजदूत झाङले बताए।

उनले नेपाल र चीनले हिमाली विपद्लाई साझा चुनौतीका रूपमा लिएर हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७