सम्मानमा सम्झौता गर्दिनँ, युवाको रक्षाकवच बनेर अघि बढ्छु : पूर्णबहादुर खड्का
काठमाडौं: नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मानका लागि आफूले कहिल्यै सम्झौता नगर्ने बताएका छन्। उनले पार्टीभित्र युवापुस्ताको रक्षाकवच बनेर अघि बढ्न आफू तयार रहेको पनि बताएका छन्।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा पार्टी संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले कांग्रेस इतिहासकै कठिन मोडमा पुगेको दाबी गरे। “कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर उनीहरूको रक्षाकवच भएर हिँड्न तयार छौँ। हामी आफैँ नेता बन्न खोजेका हौँ भन्ने भ्रम कसैले नराखोस्,” उनले भने।
खड्काले सम्मानका लागि विगतमा पञ्चायतविरुद्ध संघर्ष गरेको स्मरण गर्दै “बरु मर्न तयार हुन्छौँ, तर सम्मानमा सम्झौता गर्न सक्दैनौँ,” भने। उनले पार्टी सभापति गगनकुमार थापाले नचाहेसम्म नेपाली कांग्रेस एक हुन नसक्ने दाबी गर्दै पार्टी एकताका लागि नेतृत्वले पर्याप्त पहल नगरेको आरोप लगाए। खड्काले पार्टी एकताको पक्षमा आवाज उठाउँदा आफूहरूमाथि ‘बार्गेनिङ’ गरेको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
“हामी विशेष महाधिवेशनलाई स्वीकार्न तयार छौँ। गगनजी, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई पूर्णता दिनुस्, सबैलाई समेट्नुस् भन्दा त्यो बार्गेनिङ कसरी हुन्छ?” उनले प्रश्न गरे। उनले पार्टीभित्रको विवाद अन्त्य गरी सबै पक्षलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।
.gif)

.png)

