कुहिएका र क्षतविक्षत शव पहिचान गर्न सहयोग गर्दै सिंगापुर प्रहरी

सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली नेपालमा


२०८३ भदौ २१ आइतबार १५:५७ बजे
PHOTO: DESMOND FOO/ST

काठमाडौं : भदौ १० गते आएको विनाशकारी बाढीपछि हराइरहेका तथा मृत्यु भएकाहरूको पहिचान गर्न सिंगापुर प्रहरीको ३५ सदस्यीय फोरेन्सिक टोली नेपालमा खटिएको छ। भदौ १७ गते नेपाल आएको टोलीले काठमाडौंका विभिन्न अस्पतालमा राखिएका शवबाट औँठाछाप तथा अन्य फोरेन्सिक विवरण संकलन गरिरहेको छ। सिंगापुर प्रहरीको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) टोलीले नेपाली प्रहरी, फोरेन्सिक विज्ञ तथा स्वास्थ्य अधिकारीसँगको समन्वयमा पहिचानको काम अघि बढाइरहेको हो।

बाढीका कारण शव कुहिएका, टुक्राटुक्रा भएका वा घटनास्थलबाट टाढा पुर्‍याइएका अवस्थामा सामान्य प्रक्रियाबाट पहिचान गर्न कठिन हुने भएकाले फोरेन्सिक विधिबाट पहिचान गर्ने कामलाई प्राथमिकता दिइएको टोलीले जनाएको छ। सिंगापुर प्रहरी टोलीका कमान्डर असिस्टेन्ट कमिस्नर अफ पुलिस प्याट्रिक टानका अनुसार अहिले टोलीले घटनास्थलको अवस्था बुझ्नुका साथै मृतकको पहिचानमा केन्द्रित भएर काम गरिरहेको छ। ‘अहिले हाम्रो मुख्य ध्यान विपद्मा मृत्यु भएकाहरूको पहिचान गर्नु हो। साथै खोज तथा उद्धारमा सहयोग पुग्ने गरी नेपाल प्रहरीलाई ड्रोन सञ्चालनसम्बन्धी तालिम पनि दिइरहेका छौं,’ उनले भनेका छन्।

नेपालमा डीभीआई टोलीको नेतृत्व गरिरहेका असिस्टेन्ट कमिस्नर अफ पुलिस यूजिन वाङले सिंगापुरका नागरिकको मात्रै नभई बाढीमा ज्यान गुमाएका सबैको पहिचानमा सहयोग गर्ने उद्देश्यले टोली नेपाल आएको बताए। ‘हामीले सिंगापुरका नागरिकलाई मात्रै लक्षित गरेर काम गर्न सक्दैनौँ। पीडितहरू विभिन्न देशका छन्। त्यसैले यो धेरै देशको सहकार्यमा हुने प्रयास हो,’ उनले भने। सिंगापुर प्रहरी टोलीमा फिंगरप्रिन्ट संकलन तथा फोटोग्राफीमा प्रशिक्षित अधिकारीसँगै होम टिम साइन्स एन्ड टेक्नोलोजी एजेन्सीअन्तर्गतको इन्टिग्रेटेड फोरेन्सिक सर्भिसका विशेषज्ञसमेत छन्। हेल्थ साइन्सेस अथोरिटीका फोरेन्सिक प्याथोलोजिस्ट र प्राविधिक अधिकारीले पनि टोलीलाई सहयोग गरिरहेका छन्।

टोलीले नेपालमा रहेका शवबाट औँठाछापलगायत विवरण संकलन गरिरहेको छ भने सिंगापुरमा रहेको टोलीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट उनीहरू जीवित हुँदा गरिएका एक्स–रे, मेडिकल रेकर्ड तथा डीएनए नमुना संकलन गरिरहेको छ। संकलित विवरण नेपाल पठाएर यहाँको टोलीले मृतकको पहिचानका लागि त्यसलाई भिडाउनेछ। इन्टरपोलको डीभीआई प्रोटोकलअनुसार डीएनए मिलानको प्रक्रिया विपद् प्रभावित देशले नै अघि बढाउने व्यवस्था छ।

सिंगापुर प्रहरी टोलीसँग विभिन्न विपद्मा पीडितको पहिचानमा काम गरेको अनुभव भए पनि नेपालको बाढीले नयाँ चुनौती थपेको टोलीको भनाइ छ। बाढीपछि लामो समय बितिसकेकाले कतिपय शवमा गम्भीर क्षति पुगेको र शव कुहिएको हुन सक्ने भएकाले औँठाछाप संकलन तथा पहिचानमा थप कठिनाइ भएको वाङले बताएका छन्। चुनौतीका बीच पनि टोलीले महत्वपूर्ण विवरण संकलन भइरहेको जनाएको छ। बाढीमा नौ जना सिंगापुरका नागरिकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ। नेपालमा जारी खोज तथा उद्धार र पहिचान कार्यमा सिंगापुरसँगै भारत, चीन, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायतका देशले पनि विभिन्न विशेषज्ञ टोली तथा उपकरणसहित सहयोग गरिरहेका छन्।

यसैबीच सिंगापुरको विदेश मन्त्रालयको संकट प्रतिकार्य टोली पनि बाढी आएको भोलिपल्टदेखि नै नेपालमा खटिएको छ। टोलीले नेपाली अधिकारीसँग समन्वय गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेको छ। सिंगापुर सरकारले नेपालका लागि ५ लाख ६० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। उक्त सहयोगमा औषधि, राहत सामग्री तथा बाढीपीडितका लागि आवश्यक आपत्कालीन सामग्री समावेश छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७