के उपसभामुखसँग हर्क साम्पाङ रिसाएकै हुन् ?
काठमाडौं : संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्तिको सिफारिस गरेलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लगातार आक्रोश पोखिरहेका छन् । अध्यक्ष साम्पाङले सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर राजनीतिक र कानुनी स्वार्थका लागि चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेको दाबी गरिरहेका छन् ।
अध्यक्ष साम्पाङले सरकारसँग मात्रै होइन, आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरको कदमप्रति पनि लगातार असन्तुष्टि पोखिरहेका छन् । अध्यक्ष साम्पाङले शुक्रबार जारी गरेको विज्ञप्तिमा उपसभामुख ठाकुरप्रति असन्तुष्टि पोखिएको छ । ‘हाम्रै पार्टीबाट जानु भएकी उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष साम्पाङले उपसभामुखप्रतिको असन्तुष्टिकै भाषामा ‘सी इज नट पार्ट अफ अस’ भनेर पनि लेखेका छन् । ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो । तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब । उहाँको निर्णयमा हाम्रो पार्टीको कुनै निर्देशन र ह्वीप रहँदैन । त्यसैले मैले खेद प्रकट गरिसकेको छु । “सी इज नट पार्ट अफ अस”,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
कतिपयले अध्यक्ष साम्पाङको यो विरोधलाई दोहोरो चाल भन्दै आलोचना गरिरहेका छन् । पार्टीको पदबाट औपचारिक रूपमा बिदा भएको भनिए पनि सभामुख होस् वा उपसभामुख, यस्तो विषयमा आफ्नो पार्टीसँग आवश्यक समन्वय र परामर्श हुन्छ । स्रोतका अनुसार उपसभामुख ठाकुरले अध्यक्ष साम्पाङसँग यो विषयमा आवश्यक परामर्श भने नगरेको हो ।
‘उपसभामुखले अध्यक्षसँग जुन गम्भीरताको साथ समन्वय र परामर्श गर्नुपर्थ्यो, त्यो नगरेको देखिन्छ,’ श्रम संस्कृतिका एक नेता तथा सांसदले नयाँ पेजसँग भने, ‘उपसभामुखज्यूले अध्यक्षज्युलाई एक पटक फोन गरेको उठेन भन्नु भएको रहेछ । अध्यक्ष कार्यक्रमहरूमा सधैं व्यस्त हुनुहुन्छ । फोन उठेन भनेर यस्तो विषयमा परामर्श नै नगर्नु राम्रो भएन ।’
ती नेताले पनि उपसभामुखसँग असन्तुष्टि पोखे । ‘संवैधानिक परिषद्को बैठक बस्ने पूर्वसूचना थियो, विषय पनि थाहा थियो । उपसभामुखज्यूलाई परामर्श र समन्वयका लागि पर्याप्त समय थियो,’ ती नेताले भने ।
.gif)

.png)

