साउदीमा ड्रोन हमलाबाट नेपालीको मृत्यु भएपछि नेपालको कडा भर्त्सना
काठमाडौं : साउदी अरेबियाको तेल उत्पादन क्षेत्रनजिक ड्रोन आक्रमणका कारण एक नेपाली नागरिकको मृत्यु भएपछि नेपाल सरकारले घटनाको कडा निन्दा गरेको छ।
नेपालले सार्वजनिक पूर्वाधारलाई लक्षित गरी गरिने आक्रमण अस्वीकार्य रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सार्वजनिक पूर्वाधारमाथि भएका आक्रमणको भर्त्सना गरेको हो।
मन्त्रालयले साउदी अरेबियामा जारी तनाव वार्ता र संवादका माध्यमबाट अन्त्य हुनुपर्नेमा जोड दिएको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बुधबार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
प्राप्त विवरणअनुसार साउदीको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरेको थियो।
त्यस क्रममा खसेको भग्नावशेष आयल फिल्ड परिसरनजिक रहेको एक ठेकेदारको गाडीमा परेको थियो। त्यसपछि गाडीमा आगलागी हुँदा कामदारहरूको मृत्यु भएको जनाइएको छ।
यस घटनाले साउदी अरेबियामा कार्यरत विदेशी कामदारको सुरक्षाबारे चिन्ता थपिएको छ। नेपाल सरकारले तनाव अन्त्यका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा राखेको छ।
.gif)

.png)



