विश्वचर्चित ब्याटर डेविड मिलर कर्णाली याक्समा अनुबन्ध


२०८३ कार्तिक ७ शुक्रबार २१:३५ बजे

काठमाडौं । दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले शुक्रबार ३७ वर्षीय बायाँहाते ब्याटर मिलरलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट र विश्वका चर्चित फ्रेन्चाइज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका मिलरको आगमनले कर्णालीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ ।

मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलातलाई टोलीमा भित्र्याइसकेको छ । स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि कर्णालीबाटै खेल्नेछन् ।

कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षाअनुसार विश्वचर्चित खेलाडीलाई टोलीमा ल्याउन सफल भएको बताए । मिलरको आगमनले कर्णालीलाई उपाधि दाबेदारका रूपमा स्थापित गर्न र नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

मिलरले भारतको इन्डियन प्रिमियर लिग ९आइपिएल० मा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलिसकेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आइपिएलको उपाधि जित्दा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

आक्रामक ब्याटिङका लागि परिचित मिलरले सन् २०१७ मा बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमै शतक प्रहार गरेका थिए । त्यस प्रदर्शनले उनलाई छोटो प्रारूपको क्रिकेटका उत्कृष्ट आक्रामक ब्याटरमध्ये एकका रूपमा थप चर्चित बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार आठ सयभन्दा बढी रन बनाएका छन् । विभिन्न देशका फ्रेन्चाइज लिगमा समेत अनुभव बटुलेका मिलरको उपस्थितिले एनपिएलको प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय चर्चा बढाउने अपेक्षा गरिएको छ ।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलमा कर्णाली याक्सको मार्की खेलाडी सोमपाल कामी छन् । टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झा र बलर नन्दन यादवसहित विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा पनि छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७