नेपाल-भुटान मामिलाका जानकार सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत प्रस्तावित

प्रधानमन्त्री कार्यालयदेखि आर्थिक कूटनीतिसम्म सम्हालेका दलेला हाल विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव छन्।


२०८३ असोज २१ बुधबार २०:५६ बजे

काठमाडौं : नेपाल र भुटान मामिलाका जानकार वरिष्ठ भारतीय कूटनीतिज्ञ सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत प्रस्तावित भएका छन् । भारतीय विदेश सेवाका सन् १९९३ ब्याचका अधिकारी दलेला हाल भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिवका रूपमा कार्यरत छन् ।

नेपालका लागि दलेलाको प्रस्तावित जिम्मेवारीको महत्वपूर्ण पक्ष उनको नेपाल मामिलासम्बन्धी प्रत्यक्ष कूटनीतिक अनुभव हो । उनले सन् २०१६ देखि २०१९ सम्म भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने संयुक्त सचिवका रूपमा नेपाल र भुटानसँगको भारतको सम्बन्ध हेरेका थिए । यसअघि सन् २००६–०७ मा उनी यही विभागमा निर्देशकका रूपमा कार्यरत थिए ।

नेपाल मामिला हेर्ने जिम्मेवारीमा रहँदा दलेला नेपाल–भारत सम्बन्धका विभिन्न द्विपक्षीय विषयमा प्रत्यक्ष संलग्न थिए । सन् २०१९ मा काठमाडौंमा भएको नेपाल–भारत संयुक्त परियोजना अनुगमन समितिको बैठकमा उनले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उक्त बैठकमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदासम्बन्धी परियोजनाको प्रगति समीक्षा गरिएको थियो ।

नेपाल र भुटान मामिला हेरेपछि दलेला भुटानका लागि भारतीय राजदूत नियुक्त भएका थिए । उनले सन् २०२२ देखि २०२५ सम्म भुटानमा भारतीय राजदूतका रूपमा जिम्मेवारी सम्हाले । भुटानको विदेश मन्त्रालयका अनुसार उनले सन् २०२२ अगस्टमा भुटानका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । भुटानमा रहँदा उनले भारत–भुटान सम्बन्ध, विकास साझेदारी, ऊर्जा तथा उच्चस्तरीय राजनीतिक सम्बन्धका विषयमा काम गरेका थिए ।

प्रधानमन्त्री कार्यालयदेखि आर्थिक कूटनीतिसम्म

दलेलाले भारतको प्रधानमन्त्री कार्यालयमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । सन् २००९ देखि २०११ सम्म उनी प्रधानमन्त्री कार्यालयमा निर्देशक थिए । त्यहाँ उनले दक्षिण एसियाली छिमेकी मुलुक, पूर्वी एसिया, हिन्द–प्रशान्त क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकासँग भारतको सम्बन्धसम्बन्धी विषय हेरेका थिए ।

त्यस्तै, उनले अमेरिकाको शिकागोमा भारतका महावाणिज्यदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा राजनीतिक मामिला हेर्ने अधिकारीका रूपमा काम गरेका थिए । सन् २०२० देखि २०२२ सम्म उनी वासिङ्टनस्थित भारतीय दूतावासका उपप्रमुख थिए ।

दलेलासँग व्यापार तथा आर्थिक कूटनीतिको समेत लामो अनुभव छ । उनले भारतको वाणिज्य विभागमा व्यापार नीतिसम्बन्धी जिम्मेवारी सम्हालेका थिए भने जेनेभास्थित विश्व व्यापार संगठनमा भारतको स्थायी प्रतिनिधिमण्डलमा समेत काम गरेका थिए । सन् २०१४ देखि २०१६ सम्म उनी त्यहाँ भारतका उपस्थायी प्रतिनिधि थिए ।

दलेलाले सन् २०२५ सेप्टेम्बर १ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । उनको कार्यक्षेत्रमा भारतको आर्थिक कूटनीति, विकास साझेदारी, विश्वका विकासोन्मुख मुलुकसँगको सहकार्य, अफ्रिकासँगको साझेदारी तथा बहुपक्षीय आर्थिक सम्बन्धलगायत विषय छन् ।

उनी ब्रिक्स, इब्सा र आइटुआइटुआका लागि भारतका विशेष प्रतिनिधिका रूपमा समेत जिम्मेवारीमा छन् ।

तीन दशक लामो कूटनीतिक अनुभव

कूटनीतिमा प्रवेश गर्नुअघि दलेलाले विद्युतीय इन्जिनियरिङमा स्नातक गरेका थिए । सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेपछि उनले इजरायल, ब्राजिल, बंगलादेश, स्विट्जरल्यान्ड, अमेरिका र भुटानलगायत मुलुकमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

नेपालका लागि उनको प्रस्तावित नियुक्तिको विशेष पक्ष भनेको नेपाल र भुटान दुवै मामिलामा प्रत्यक्ष काम गरेको अनुभव भएका कूटनीतिज्ञलाई काठमाडौं पठाउने तयारी हुनु हो ।

नेपालमा भारतीय राजदूतका रूपमा उनको जिम्मेवारी औपचारिक रूपमा अघि बढेमा नेपाल–भारत सम्बन्धका राजनीतिक विषयसँगै व्यापार, ऊर्जा, पूर्वाधार, विकास साझेदारी र आर्थिक सहकार्य उनका महत्वपूर्ण कार्यक्षेत्र बन्न सक्नेछन् । उता नेपाल सरकारले भारतका लागि निश्चलनाथ पाण्डेलाई राजदूतमा सिफारिस गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७