गृहमन्त्री र भारतीय राजदूतबीच निर्वाचन सुरक्षाबारे छलफल
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा आइतबार भएको भेटमा दुवै पक्षबीच आगामी निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सरकार अहोरात्र लागिपरेको पनि बताए।
उनले नेपाल र भारतबीच कायम मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने प्रस्ट पारे । दुई देशबीच खुला सीमा रहेको तथ्यलाई ध्यानमा राख्दै निर्वाचनअघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो।
त्यस अवसरमा राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
.gif)

.png)


