सम्पत्ति शुद्धीकरण अनुसन्धानमा चोलेन्द्रशमशेरको बैंक खाता रोक्का गर्ने तयारी
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले बुधबार जबरासहित उनीसँग कनेक्सन देखिएका व्यक्तिका घरमा छापा मारेको छ।
विभागले जबराका निकटस्थ पूर्वउच्च अदालतका न्यायाधीश नवराज थपलियाको घरमा समेत छापा मारेको स्रोतले जनाएको छ।
यसअघि जबरासँग जोडिएका व्यक्तिहरूसँगको मोबाइल सम्पर्कबाट खुलेका प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतको भनाई छ। अनुसन्धानका क्रममा जबराका सहयोगी, आफन्त र उनीसँग जोडिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान हुने बताइएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जबराको घर तथा आफन्तका घरबाट प्रमाण संकलन गरिनेछ। उनको सम्पत्ति र बैंक खाता रोक्काका लागि पनि प्रक्रिया अघि बढाउने तयारी छ।
यसअघि जबरासँग जोडिएको आरोपमा थपलियामाथि अनुसन्धान भएको थियो। करिब तीन वर्षअघि थपलियाबारे सार्वजनिक भएको विवरणपछि न्याय परिषद्ले जाँचबुझ गरी उनलाई पदबाट हटाएको थियो।
गत असोज १० गते राति प्रहरीले जबरालाई पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा राखेको थियो। त्यस क्रममा उनको मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएर पछि फिर्ता गरेको थियो।
जबरासँग कनेक्सन देखिएका झापाका इनम सापकोटा भने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। सुरक्षा स्रोतका अनुसार सापकोटामार्फत व्यवसायी दीपक भट्टलाई छुटाउन चलखेल भएको प्रमाण भेटिएको दाबी गरिएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा जबरालाई पक्राउ नगरे पनि उनीसँग जोडिएका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ।
जबरा र सापकोटाबीच कनेक्सन देखिएको भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी दाहाललाई समेत सोमबार निलम्बन गरिएको जनाइएको छ।
.gif)

.png)


