काठमाडौँ महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड ४८ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा
साली र साढुभाइसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
काठमाडौं : काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दा दायर गरेको छ।
अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न माध्यमबाट रुपान्तरण, स्वरूप परिवर्तन तथा हस्तान्तरण गरी शुद्धीकरण गरेको आरोपमा शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार यसअघि २०८२ जेठ २६ गते महतोविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।
सोही कसुरलाई सम्बद्ध कसुर मानेर सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन जारी हुनुपूर्वको १९ लाख १५ हजार ५१४ रुपैयाँ ८६ पैसा बिगोबाट घटाइएको अख्तियारले जनाएको छ। त्यसपछि बाँकी रहेको ४ करोड ३९ लाख ८१ हजार ८८८ रुपैयाँ १४ पैसा र कसुरबाट बढेबढाएको ८ लाख ९७ हजार ९५३ रुपैयाँ ८४ पैसा समेत गरी महतोले कुल ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा गैरकानुनी रूपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको निष्कर्ष छ।
अनुसन्धानका क्रममा महतोले भ्रष्टाचारबाट आर्जित रकमलाई शुद्धीकरण गर्न साली रीना कुशवाह र साढुभाइ कृष्णप्रसाद मेहतालाई तेस्रो पक्षका रूपमा प्रयोग गरेको पाइएको अख्तियारले जनाएको छ। उनीमार्फत बैंक तथा सहकारीमा रकम जम्मा गर्ने, जग्गा खरिदमा लगानी गर्ने, वास्तविक मूल्यभन्दा कम रकम थैली कायम गरी भुक्तानी गर्ने तथा रकम मुद्दती निक्षेपमा राखेर त्यसबाट प्राप्त ब्याजलाई आम्दानीका रूपमा देखाउनेलगायतका काम गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले मुख्य कसुरदार महतोविरुद्ध ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी बिगोको दोब्बर जरिवाना, कैद सजाय, सम्पत्ति तथा जग्गा जफत र थप १० प्रतिशत सजायसमेत माग गरेको छ। त्यस्तै, महतोकी श्रीमती मालाकुमारी महतोले पतिले भ्रष्टाचारबाट आर्जन गरेको अवैध सम्पत्ति भएको जानकारी हुँदाहुँदै घरजग्गा कारोबारमा लगानी गरी त्यसको स्रोत लुकाउन सहयोग गरेको अख्तियारको आरोप छ। उनीविरुद्ध पनि सोही बिगो कायम गरी दोब्बर जरिवाना, कैद तथा जग्गा जफतको मागदाबी गरिएको छ।
मालाकुमारीकी बहिनी रीना कुशवाह र उनका श्रीमान् कृष्णप्रसाद मेहतालाई भने मुख्य कसुरदारको गैरकानुनी सम्पत्ति रूपान्तरण, हस्तान्तरण तथा अधिकार लुकाउने कार्यमा मतियार भई सहयोग र सहजीकरण गरेको आरोप लगाइएको छ। अख्तियारले उनीहरूलाई मुख्य कसुरदार महतोलाई हुने सजायको आधा सजाय हुनुपर्ने मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
.gif)

.png)

