आइजीपी र सीआईबीमाथि खगेन्द्र सुनारका प्रश्नैप्रश्न

१० करोड असुलीको आरोपमा खगेन्द्रको जवाफ : गिरबहादुरसँग थर र ओशोको माला मात्रै मिल्छ


२०८३ असोज २१ बुधबार २१:२८ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध लगाइएका आर्थिक लेनदेन र राजदूत नियुक्तिसम्बन्धी आरोप अस्वीकार गरेका छन् । उनले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसँग आफ्नो कुनै आर्थिक सम्बन्ध नरहेको दाबी गरेका छन् ।

केही युट्यूबरसँग कुराकानी गर्दै सांसद सुनारले गिरबहादुरसँग आफ्नो थर मात्रै मिलेको बताए । राजदूत नियुक्तिमा रकम व्यवस्थापन गरेको आरोपसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको विषयमा उनले आफूलाई अनावश्यक रूपमा जोडिएको दाबी गरे । ‘डा. गिरीबहादुर सुनारसँग मेरो कुनै आर्थिक साँठगाँठ छैन । उहाँसँग मेरो थर र ओशोको माला मात्र मिलेको हो,’ उनले भने ।

दलित आन्दोलनका नाममा १० करोड रुपैयाँ उठाएर हिनामिना गरेको तथा सरुवा–बढुवामा आर्थिक लेनदेन गरेको आरोप पनि उनले अस्वीकार गरे । आफ्नो नाममा कुनै व्यापार, व्यवसाय वा सेयर नरहेको दाबी गर्दै उनले नागरिकता र पासपोर्टबाहेक आफूले सम्पत्ति नराखेको बताए ।

‘६० लाख दलितहरूले मलाई पार्टी खोल्न ६० करोड दिनुभएको थियो, १० करोड मात्र आयो भन्नुहुन्छ, बाँकी ५० करोड कहाँ गयो त्यो पनि खोज्नुस्,’ उनले व्यङ्ग्य गर्दै भने ।

रास्वपाबाट समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपैयाँ लिएको आरोपलाई पनि उनले कपोलकल्पित भएको बताए । आफूलाई बदनाम गर्न भारत, अमेरिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बालुवाटार र न्युरोडका सुन पसलसम्म जोडेर भ्रामक प्रचार गरिएको उनको दाबी छ ।

प्रहरी नेतृत्व र सीआईबीमाथि खगेन्द्रको आरोप

सांसद सुनारले आफूविरुद्ध नेपाल प्रहरीको उच्च नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियोजित रूपमा घेराबन्दी गरेको आरोप लगाए ।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नामै लिएर स्रोतसाधनको दुरुपयोग गर्दै आफ्नो चरित्रहत्या गर्न साइबर टिम परिचालन गरिएको दाबी गरे ।

सीआईबीले आफू निकट व्यक्तिहरूलाई निजी नम्बरबाट फोन गरेर धम्क्याउने गरेको र आफ्नो पछाडि डीएसपी तथा एसपी परिचालन गरिएको उनको आरोप छ । ‘दम छ भने प्रहरी महानिरीक्षकले बर्दी खोलेर राजनीतिमा आउनुपर्छ । हेडक्वार्टरमा बसेर सांसदलाई लखेट्न मिल्दैन,’ उनले भने ।

आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न चुनौती दिँदै सुनारले आरोप प्रमाणित भए सांसद पदबाटै राजीनामा दिने बताएका छन् । ‘म संसद् पद छोड्न डेफिनेट्ली तयार छु । ममाथि लागेका आरोपमा रौं जति मात्रै प्रमाण भेटियो भने म लुगा फुकालेर संसद्बाट बाहिरिन्छु,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७