विपद् पीडित नागरिकलाई होच्याउने र बुलिङ गर्ने हृदयहीनलाई रास्वपामा कुनै ठाउँ छैनः रवि लामिछाने


२०८३ भदौ २४ बुधबार १५:०८ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका सदस्य वा पदाधिकारीलाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले विपद्का बेला पीडित नागरिकमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न सरकारसँग आग्रह गरे । विज्ञप्ति निकालेर मात्रै नभई राज्य पीडितको पक्षमा उभिएको अनुभूति हुने गरी व्यवहारमै देखिनुपर्ने उनको भनाइ छ ।

‘सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति निकाल्ने मात्र होइन, राज्य साँच्चिकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला,’ लामिछानेले भने । उनले रास्वपालाई विपद्मा परेका नागरिकको पीडामाथि उपहास गर्ने वा उनीहरूलाई होच्याउने अन्धसमर्थक आवश्यक नरहेको बताए ।

‘रास्वपालाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन । हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ,’ उनले भने । लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने छुट कसैलाई नरहेको स्पष्ट पारे । ‘नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ उनले भने ।

रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइएमा साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उनले चेतावनी दिए । ‘विपद्मा परेका आफ्ना नागरिकका चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्कने हृदयहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ लामिछानेले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७