जहिले पनि सरकारमा जाने कार्यनीति फेरौँ : रिजाल
काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले पार्टीले सत्ता–केन्द्रित कार्यनीतिको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा धारणा राख्दै रिजालले वामपन्थी एकता, नयाँ पुस्ताको सहभागिता र पार्टीका समग्र नीति तथा कार्यशैलीमा पुनर्विचार गर्नुपर्ने प्रस्ताव राखे।
२०४७ सालयता पटक–पटक सरकारमा सहभागी हुने र विभिन्न शक्तिसँग सत्ता साझेदारी गर्ने कार्यनीतिले पार्टीलाई सत्ता समीकरणभन्दा बाहिरबाट सोच्ने अवसर नदिएको उनको भनाई छ। प्रमुख प्रतिपक्षमा रहेको अवस्थालाई पार्टीले आफ्नो राजनीतिक रणनीतिको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने नेता रिजालको धारणा छ।
‘जहिले पनि, जोसँग पनि र जसरी पनि सरकारमा जाने कार्यनीतिले हामीलाई सत्ता–समीकरणभन्दा बाहिरबाट सोच्ने अवसर नै दिएन,’ रिजालले भने। उनले समाजवाद–साम्यवादलाई रणनीति मान्ने तर सरकार बनाउन जुनसुकै शक्तिसँग साझेदारी गर्ने अभ्यासले पार्टीको दीर्घकालीन रणनीतिलाई सेवा गरेको हो कि सत्ता राजनीतिलाई मात्रै भन्ने कुराको समीक्षा गर्नुपर्ने बताए।
नेता रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण पनि स्पष्ट पार्नुपर्ने बताए। भदौ २३–२४ का घटनामा सेनाको भूमिकाबारे प्रश्नहरू बाँकी रहेको उल्लेख गर्दै उनले एकातर्फ सेनाले एमाले नेतृत्वको सुरक्षा तथा सहजीकरण गरेको र अर्कोतर्फ संसद्मा एमालेकै मुख्य निशाना सेना जस्तो देखिने गरी अभिव्यक्ति आउँदा पार्टीको वास्तविक दृष्टिकोणबारे भ्रम उत्पन्न भएको बताए। यस विषयमा पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।
रिजालले एमालेको नेतृत्वमा अन्य वामपन्थी दलसँग एकताको पहल गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्। आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति र ‘सरकारदेखि सरकारसम्मको गोलचक्कर’प्रति नयाँ पुस्ता आकर्षित नभएको भन्दै उनले समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे गम्भीर बहस आवश्यक रहेको बताए।
उनले पार्टीको डिजिटल उपस्थितिलाई सुदृढ बनाउन केन्द्रमा २४ घण्टा सक्रिय रहने छुट्टै डिजिटल विभाग बनाउनुपर्ने तथा प्रदेश र स्थानीय तहसम्म त्यसलाई विस्तार गर्नुपर्ने बताए। नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न विभागहरूमा कम्तीमा ५० प्रतिशत विशेषज्ञ युवालाई समेट्ने नीति बनाउनुपर्ने उनको धारणा छ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई भने समर्थन गर्दै नेता रिजालले अध्यक्षले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै आगामी कार्यदिशाको मार्गचित्र प्रस्तुत गरेको बताए। पार्टी उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलको व्याख्यापछि शीर्ष नेताहरूबीचको अविश्वासबारे देखिएको विवादमा स्पष्टता आएको उनको धारणा थियो।
.gif)

.png)
