पोखरामा फ्लाई दुबईको विमान अवतरण: अन्तर्राष्ट्रिय उडानको ढोका खुल्यो


२०८३ असोज ७ बुधबार १९:२६ बजे

पोखरा : लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्ततः नियमित व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई नियमित उडान थालेसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज १ सय १३ यात्रुसहित बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो।

पोखरा आएको फ्लाई दुबईको जहाज बोइङ ७३७ म्याक्स ८ नेपाली पाइलट सर्वजित यादवले उडाएर पोखरा ल्याएका हुन्। सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत पाइलट यादव त्यसअघि नेपालकै विभिन्न वायुसेवामा कार्यरत थिए।

यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधि विमानस्थल पुगेका थिए। नियमित तालिकाअनुसार जहाज बुधबार साँझ ७ः१५ बजे १ सय ५३ यात्रुसहित दुबई फर्किने निरौलाले बताए।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमित हुन सकेका थिएनन्। फ्लाई दुबईको दैनिक उडानले भने पोखरालाई दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायतका गन्तव्यसँग जोड्ने बाटो खोलेको विमानस्थल व्यवस्थापनको भनाइ छ।

फ्लाई दुबई र इमिरेट्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने उडानबाट पोखराबाट विदेश जाने यात्रुले दुबई हुँदै विभिन्न गन्तव्यसम्म एउटै टिकटमा यात्रा गर्न सक्ने बताइएको छ। दुबई फ्लाई दुबईको विश्वव्यापी हवाई सञ्जालको प्रमुख केन्द्र भएकाले यसले पोखराबाट अन्तर्राष्ट्रिय यात्राको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरा र आसपासका पर्यटकीय क्षेत्रलाई पनि प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। विदेशी पर्यटकहरू दुबई हुँदै काठमाडौं नआई सिधै पोखरा आउन सक्नेछन् भने वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई पनि सहजता थपिने विमानस्थलका महाप्रबन्धक निरौलाले बताए।

फ्लाई दुबईलाई उडान आकर्षित गर्न सरकारले विमानस्थलका विभिन्न शुल्कमा छुटसमेत दिएको छ। २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई उडानको अनुमति दिएको थियो।

हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिकासहित सुरु भएको यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लामो समयदेखिको नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा अन्त्य गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७