व्यावसायिक भिसा लिएर अर्कै काम गर्ने ८८ विदेशीको भिसा रद्द


२०८३ असोज ७ बुधबार १८:०४ बजे
फाइल फोटो

काठमाडौं : व्यावसायिक भिसाको उद्देश्यविपरीत अन्य प्रकृतिको काममा संलग्न रहेको पाइएपछि अध्यागमन विभागले ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।

विभागकाअनुसार सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित निर्माणाधीन जियान फुड्स प्रालिमा कार्यरत ती विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएको पाइएको हो।

अनुगमनका क्रममा उनीहरू भिसा लिँदा उल्लेख गरिएको व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम वा अन्य कार्यमा संलग्न रहेको भेटिएपछि भिसा रद्द गरिएको विभागले जनाएको छ।

विभागले उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ। 

व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले भिसा लिँदा उल्लेख गरेको उद्देश्यअनुसार मात्रै नेपालमा गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।

विभागले उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई आवश्यक स्वीकृति र उपयुक्त भिसाबिना विदेशी नागरिकलाई काममा नलगाउन सचेत गराएको छ। 

साथै, विदेशी नागरिकलाई समेत आफूले प्राप्त गरेको भिसाको उद्देश्य र तोकिएका शर्तअनुसार मात्रै नेपालमा बस्न आग्रह गरेको छ।

अध्यागमन कानून तथा अन्य प्रचलित कानूनविपरीत गतिविधि गरेको पाइए विदेशी नागरिक वा सम्बन्धित संस्थामाथि कानूनबमोजिम कारबाही गरिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७