विदेशीको आशीर्वादले होइन, नेपाली जनताको मतबाट प्रधानमन्त्री बन्छु : हर्क साम्पाङ


२०८३ असोज ७ बुधबार १३:४० बजे
फाइल फोटो

विराटनगर : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनैपनि विदेशी शक्तिको समर्थन वा दलालीबाट नभई नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। 

बुधबार धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै नेता साम्पाङले जनताले चाहे आफू केही समयमै प्रधानमन्त्री बन्न सक्ने बताए। उनले भने, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभएछ। उहाँको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आयो।’

देश विकासको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै साम्पाङले बस चलाउन चालकको हातमा चाबी हुनुपर्ने उदाहरण समेत दिए। ‘भारत, चीन वा कुनै ग्रे जोनको आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन। केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो,’ उनले भने।

उनले आफू प्रधानमन्त्री बनेपछि देशका नागरिकलाई श्रममा जोडेर विकास अभियान सञ्चालन गर्ने बताए। ‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन। देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नुपर्छ,’ उनले भने।

उनले आफूलाई ‘आगो बोकेको मान्छे’को संज्ञा दिँदै विरोधी तथा विभिन्न देशी–विदेशी शक्तिलाई आफूलाई नजिस्काउन चेतावनीसमेत दिए। नेता साम्पाङले भने, ‘धरान उपमहानगरपालिकामा ठूला–ठूला राजनीतिक दललाई पछारेर एक्लै माइक बोकेर निस्किएको मान्छे हुँ। अहिले त मसँग लाखौँ श्रमदाताहरू साथमा छन्।’

विदेशीको चाकरी गरेर बस्नेहरूलाई खबरदारी गर्दै साम्पाङले आफूलाई जति दबाउन खोजे पनि झन् माथि उठ्ने दाबी गरे। ‘मलाई जति पछारे पनि उत्तिकै माथि उफ्रिने, कहिल्यै नफुट्ने भकुन्डोजस्तै हुँ,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७