एनसेल र नाटोबीच साझेदारी, विदेशी पर्यटकलाई मोबाइल सेवा सहज बनाउने
काठमाडौं : नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच साझेदारी भएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। साझेदारीअन्तर्गत नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई यात्राका क्रममा भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउन एनसेलले सेवा प्रदान गर्नेछ। नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ।

एनसेलका अनुसार सहकार्यले नेपाल भ्रमणका क्रममा पर्यटकलाई परिवार, साथीभाइ तथा अन्य सम्पर्कसँग सहज रूपमा जोडिन सहयोग पुग्नेछ। साथै, कम्पनीले आफ्नो ‘नेपाल कलिङ’ अभियानलाई समेत यस सहकार्यबाट प्रवर्द्धन गर्ने जनाएको छ।
सहकार्यअन्तर्गत एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत एनसेल फाउन्डेसनबाट प्रमुख राजमार्गमा आधुनिक वास (WASH) पूर्वाधार निर्माणका लागि नाटोलाई सहयोग गर्ने भएको छ। यसको पाइलट परियोजना धादिङको गजुरीबाट सुरु गरिनेछ। सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पूर्वाधार निर्माणले राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकसँगै स्थानीय समुदायलाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ।
.gif)

.png)

