रसुवा बाढीः १२७ नेपालीसहित ६४४ पर्यटक तथा यात्रु सम्पर्कविहीन

३१ देशका नागरिक बोर्डको सूची


२०८३ भदौ ११ बिहीबार १४:३१ बजे

काठमाडौं : रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदी आसपासमा बुधबार बिहान आएको भीषण बाढीपछि ठूलो संख्यामा पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन्। बाढीले प्रमुख पर्यटकीय तथा आवतजावतका मार्ग प्रभावित बनाएसँगै प्रभावित क्षेत्रमा रहेका नेपाली र विदेशी नागरिकको खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ।

नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार रसुवा प्रभावित क्षेत्रबाट ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन छन्। तीमध्ये १२७ जना नेपाली नागरिक छन् भने बाँकी विदेशी पर्यटक रहेका छन्। यो तथ्यांक विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीबाट प्राप्त विवरणका आधारमा तयार पारिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार विवरण अझै प्रमाणीकरणको क्रममा रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्नेछ।

भारतीय पर्यटक धेरैः

सम्पर्कविहीन हुने विदेशी पर्यटकमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै छ। बोर्डका अनुसार १७८ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्। त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। यस्तै, सिङ्गापुरका ९, जर्मनी र रुसका ८/८, लाटभिया र दक्षिण अफ्रिकाका ६/६, जापान र न्युजिल्यान्डका ५/५ तथा फ्रान्सका ४ जना नागरिक सम्पर्कविहीन छन्।

बेल्जियम र स्पेनका ३/३ तथा इटाली, आयरल्यान्ड, कजाकस्तान, नेदरल्यान्ड्स र पोर्चुगलका २/२ जना नागरिक पनि सूचीमा छन्। बेलारुस, बुल्गेरिया, फिनल्यान्ड, हङ्गेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया, स्वीडेन र स्विट्जरल्यान्डका १/१ जना नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

खोजीमा एजेन्सीदेखि सुरक्षा निकायः

सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षा निकाय सक्रिय भएका छन्। ट्राभल एजेन्सी, स्थानीय गाइड तथा सम्बन्धित निकायबाट प्राप्त विवरणलाई क्रस–चेक गर्दै हराइरहेका व्यक्तिको यकिन पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उद्धारका लागि प्राथमिकता निर्धारण गरिने जनाइएको छ।

बाढीले भोटेकोशी र त्रिशूली नदीको कोरिडोर आसपास ठूलो भौतिक क्षति पुर्‍याए पनि माथिल्ला तथा अन्य सुरक्षित ट्रेकिङ क्षेत्रहरू सामान्य अवस्थामा रहेको पर्यटन बोर्डले जनाएको छ।

परिवारका लागि हेल्पलाइनः

सम्पर्कविहीन पर्यटकका परिवार तथा आफन्तका लागि पर्यटन बोर्डले आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। बोर्डका अनुसार टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ। प्रभावित क्षेत्रमा रहेका व्यक्तिले नजिकको प्रहरी चौकी, स्थानीय प्रशासन, सम्बन्धित ट्राभल एजेन्सी वा गाइडमार्फत पनि जानकारी गराउन सक्नेछन्।

पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका नागरिक तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन, अनावश्यक जोखिम नलिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

हेर्नूहोस् सूचीः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७