शंकरको पुनर्गठन प्रस्तावविरुद्ध ओलीको ‘महिमा-मण्डन’ गर्दै प्रदीपले तयार पारे अर्को प्रतिवेदन

जबजको विकासदेखि संविधान निर्माणसम्म ओलीकै नेतृत्वमा भएको दाबी


२०८३ असोज ३ शनिबार २१:०८ बजे

काठमाडौं : नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको बचाउमा अर्को काउन्टर प्रतिवेदन तयार पारेका छन्। ज्ञवालीले महासचिव शंकर पोखरेलले तयार पारेको एमाले पुनर्गठन प्रस्तावविरुद्ध २९ पृष्ठ लामो काउन्टर प्रतिवेदन तयार पारेका हुन्।

ज्ञवालीले तयार पारेको प्रतिवेदनमा पुनर्गठनको बहसको निराकरण महाधिवेशनमार्फत भइसकेको दाबी गरिएको छ। ‘पुनर्गठन’को ठाउँमा पार्टीमा सुधार, सुदृढीकरण र पुनर्जागरण हुनुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गम्भीरतापूर्वक नै उठेको यथार्थ हो। इतिहासमा कुनै पनि नेतृत्वको विषय बहसभन्दा माथि हुँदैन र हाम्रोमा पनि छैन। प्रश्न उठेपछि हामीले यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधिमार्फत गरिसकेका छौँ। तर हामीले बुझ्नुपर्दछ– भदौ २३/२४ र त्यसलाई वैधता दिन आयोजित निर्वाचनको परिणाम व्यक्ति विशेषका कमजोरीका कारण सिर्जित होइन।’

प्रतिवेदनमा अध्यक्ष ओलीको योगदानको लामो व्याख्या र प्रशंसा गरिएको छ। ओलीका कमजोरीबारे भने प्रतिवेदनमा उल्लेख गरिएको छैन। पपुलिस्ट शक्तिहरू भदौ २३ र २४ को नवयुवाहरूको ‘आन्दोलन’को भावनासमेत नेतृत्व गर्न सफल भएका कारण निर्वाचनमा एमालेको पङ्क्ति रक्षात्मक र उनीहरू आक्रामक अवस्थामा रहेको दाबी गरिएको छ।

बाह्य भूराजनीतिक स्वार्थ समूहहरूको अदृश्य घेराबन्दीले समेत निर्वाचनको परिणामलाई प्रभावित गरेको दाबी प्रतिवेदनमा गरिएको छ। नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा स्थापित गर्न तथा विकास गर्न पार्टी अध्यक्ष ओलीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।

ओलीकै नेतृत्वमा संविधानसभाको दोस्रो निर्वाचन गराएर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको प्रतिवेदनमा दाबी गरिएको छ।प्रतिवेदनमा भनिएको छ, ‘पार्टी अध्यक्षको नेतृत्वमा नेपालको राजनीतिमा हावी हुन खोजिरहेका हिंसा एवं जातिवाद र क्षेत्रीयवादमा आधारित विग्रहकारी एजेन्डाहरूको प्रतिवाद गर्ने कुरामा महत्वपूर्ण सफलता हासिल भएको हो। उहाँकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको हो।’

त्यस्तै, प्रतिवेदनमा भनिएको छ, ‘जबजलाई नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा स्थापित गर्न र विकास गर्न पनि पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको महत्वपूर्ण भूमिका छ। जबजअन्तर्गत क्रान्तिपूर्वको सरकारले कस्तो कार्यनीति अवलम्बन गर्नुपर्दछ भन्ने कुरामा उहाँको नेतृत्वमा पार्टीले नीतिहरूको संश्लेषण गरेको थियो। जबजको पार्टी निर्माणसम्बन्धी दृष्टिकोणका आधारमा पार्टी जीवनको लोकतान्त्रीकरणको नीति पनि उहाँकै संयोजनमा बनेको हो।’

एकै दिनमा कसरी लेखियो प्रतिवेदन ?

यसअघि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष ओलीको बचाउ गर्दै महासचिव शंकर पोखरेलको एमाले पुनर्गठन प्रस्तावविरुद्ध कार्यदलमा २५ बुँदे अलग काउन्टर प्रतिवेदन पेस गरेका थिए।

२६ भदौ २०८३ शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकमा बादलले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई नेतृत्वविरुद्धको योजनाका रूपमा व्याख्या गर्दै आफ्नो काउन्टर प्रतिवेदन पेस गरेका थिए।

कार्यदलमा सहमति जुट्न नसकेपछि २८ भदौमा काभ्रेको बल्थलीमा आवासीय बैठकका लागि नेताहरू पुगेका थिए। बल्थली बैठकले दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन तीन नेतालाई जिम्मेवारी दिएको थियो।

बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाएर ल्याउन कार्यदलका संयोजक बादल, सदस्य विष्णुप्रसाद पौडेल र महासचिव पोखरेललाई जिम्मा दिएको थियो। तीन सदस्यीय कार्यदलमा पनि सहमति जुट्न नसकेपछि बिहीबार (१ असोज २०८३) गुन्डुमा अध्यक्ष ओलीसहित बैठक बसेको थियो।

स्रोतका अनुसार सुरुमा अध्यक्ष ओलीले महासचिव पोखरेललाई प्रतिवेदन पुनर्लेखन गर्न भनेका थिए। तर पोखरेलले अस्वीकार गरेपछि उपाध्यक्ष पौडेललाई जिम्मेवारी दिन खोजिएको थियो। पौडेलले पनि अस्वीकार गरेपछि ओलीले ज्ञवालीलाई प्रतिवेदन पुनर्लेखनको जिम्मा दिने बताएका थिए।

‘महासचिवले तल्लो तहदेखि आएका सुझावका आधारमा लेखेको प्रतिवेदन पुनर्लेखन गर्न नमानेपछि अध्यक्षले उपाध्यक्षलाई भन्नुभएको हो, उहाँले पनि नमानेपछि अब प्रदीपजीले लेख्नुहुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

ओलीले बिहीबार राति निर्देशन दिएको र त्यसपछि ज्ञवालीले शनिबार बिहान २९ पृष्ठको प्रतिवेदन तयार पारेर बुझाएको दाबी गरिएको छ। तर स्रोतका अनुसार ज्ञवालीले उक्त प्रतिवेदन एकै दिनमा तयार पारेका होइनन्। एक पदाधिकारीले भने, ‘धेरै अघिदेखि प्रदीप कमरेडलाई अध्यक्षले यो काम लगाउनुभएको हो।’

१० जेठ २०८३ मा बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो। वरिष्ठ उपाध्यक्ष बादलको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवद्वय पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठ प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी सदस्य थिए।

कार्यदलले जेठ ३० देखि १३ वटा समूहबाट सुझाव सङ्कलन गरेको थियो। कार्यदलको औपचारिक बैठकले नै प्रतिवेदन लेख्ने जिम्मेवारी सदस्यसचिव पोखरेललाई दिएको थियो। महासचिव पोखरेलले ६५ पृष्ठको मस्यौदा प्रतिवेदन तयार पारी अध्यक्ष ओली र संयोजक बादललाई बुझाएका थिए।

सुझाव सङ्कलन गरिएका १३ मध्ये मधेस प्रदेश, सम्पर्क समन्वय र जनसङ्गठनबाहेक सबैबाट यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै पुनर्गठनको सुझाव पार्टीलाई दिइएको थियो।

पोखरेलको प्रतिवेदनमा २०६४ को निर्वाचनमा पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै अध्यक्ष ओलीले पनि नैतिक जिम्मेवारी लिएर पद त्याग्नुपर्ने र असोज २०८३ भित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरिएको छ।

पोखरेलको उक्त प्रतिवेदनविरुद्ध आक्रोशित बनेका ओलीले सबैभन्दा पहिले उपाध्यक्ष बादललाई कार्यदलमा काउन्टर प्रतिवेदन पेस गर्न लगाएका थिए। बादलको काउन्टर प्रतिवेदनबाट पनि सहमति जुट्न नसकेपछि अहिले एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार गरेका हुन्।

ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई भने ओलीले जिम्मेवारी दिएपछि एकै दिनमा तयार गरिएको नभई यसअघि नै यसको तयारी भइरहेको एक पदाधिकारीको दाबी छ। एमालेको संगठन पुनर्गठनसम्बन्धी कार्यदलको बैठक आइतबार बिहान ८ बजे बस्दैछ। कार्यदलमा ज्ञवालीले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा सोही प्रतिवेदन पेस गर्ने तयारी रहेको एमाले उच्च स्रोतले जनाएको छ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७