सूर्य चिह्न र पार्टी पनि नपाउने भो भन्दै केपी ओली टोपी फुकालेर आँसु पुछेर रुँदै थिए रे : ओली
‘एमाले फुटाउने प्रयास सफल हुँदैन, असोज ६–७ पछि सबै हल्लाको खण्डन हुन्छ'
काठमाडाैं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले एमालेभित्र अहिले विभिन्न प्रकारका हल्ला र भ्रम फैलाइएको दाबी गरे।
ओलीले आफूलाई लक्षित गरी ‘सूर्य चिह्न नपाउने, पार्टी पनि नपाउने’ भन्दै आफू निराश भएर बसेको जस्ता समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाए। ‘सूर्य चिह्न नपाउने भो, पार्टी पनि नपाउने भो भन्दै केपी ओली कुना पसेर, टोपी फुकालेर आँसु पुछेर रुँदै थियो भनेर समाचार छाप्या छन्,’ उनले भने, ‘कठैबरी कोही–कोही पत्रकार देखेर त माया पनि लाग्छ।’
आफू एमालेमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै ओलीले अहिलेको परिस्थितिले आफूलाई कमजोर नबनाउने बताए। आफूले पार्टीभित्र ‘१० वटा महाभारत’ लडेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले आफू मैदानमै रहेको बताए। ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए। मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ,’ उनले भने।
ओलीले आफू छ दशकदेखि एमालेमा रहेको बताउँदै पार्टीमाथि विभिन्न दिशाबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको दाबी गरे। अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारहरू गलत भएको उनको भनाइ थियो।
उनले असोज ६ र ७ गते बस्ने एमाले केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्पसहित आफूहरू बाहिरिने बताए। ‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,’ ओलीले भने।
ओलीले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिका घटनालाई पनि षड्यन्त्रपूर्ण गतिविधिको संज्ञा दिए। उनले लोकतान्त्रिक विधि, प्रक्रिया र संवैधानिक प्रणालीबाट चल्ने व्यवस्थालाई कमजोर बनाउन त्यस्ता गतिविधि आयोजना गरिएको दाबी गरे।
ओलीले आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिएको भए पनि गोली चलाइएको दाबीसमेत गरेका छन्। उनले घटनामा को–को संलग्न थिए भन्ने विषय क्रमशः खुल्दै गएको बताए।
‘को–को संलग्न थिए, के–के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन।’
ओलीका यी दाबीबारे राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते मानव अधिकार उल्लङ्घन भएको र भदौ २४ गते संगठित आपराधिक गतिविधि भएको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगले भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन सुरक्षा नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठाएको विवरण सार्वजनिक भएको छ।
.gif)

.png)

