क्रिकेटको मैदानबाट एमएमएको पिँजडासम्म : युकी आङ्देम्बेको ‘द गोर्खा’ यात्रा
क्याजमा उनी विपक्षीसँग भिड्छन्। क्याजबाहिर निस्कँदा भने नेपालको झण्डासँगै मुस्कुराउँछन्। युकी आङ्देम्बे-‘द गोर्खा’।
बाल्यकालमा क्रिकेटको ब्याट समातेका युकी आङ्देम्बे आज मिश्रित मार्सल आर्ट्स (एमएमए)को क्याजमा उत्रिन्छन्। विपक्षीसँग भिड्दा उनको हातमा मुक्का हुन्छ, खुट्टामा किक हुन्छ र मनमा एउटा छुट्टै पहिचान-नेपाल। हरेक जितपछि काँधमा नेपालको झण्डा बेर्छन्, घाँटीमा रुद्राक्षको माला हुन्छ र मुस्कुराउँदै आफ्नो जित मनाउँछन्। यही पहिचानसँग जोडिएको छ उनको अर्को नाम‘द गोर्खा’।
क्याजभित्र दुई फाइटर आमनेसामने छन्। एकातिर घरेलु फाइटर बुहुओगुबु, अर्कोतिर नेपालका युकी आङ्देम्बे। तीन राउन्डको भिडन्त सुरु हुन्छ। मुक्का र किकको आदानप्रदान चल्छ। केही समयमै युकी आफ्नो रणनीतिमा फर्किन्छन्-प्रतिद्वन्द्वीलाई समातेर नियन्त्रणमा लिने र भुइँमा झारेर खेल्ने शैली। तीनै राउन्डमा विपक्षीलाई नियन्त्रणमा राख्दै युकीले आफ्नो रणनीति कायम राखे। अन्ततः तीनै निर्णायकले समान ३०-२७ को अंक दिए। युकी विजयी भए। तर उनको जितको उत्सव केवल क्याजभित्र सीमित रहेन। बाहिर निस्कँदा उनको शरीरमा नेपालको झण्डा थियो। घाँटीमा रुद्राक्षको माला। त्यो दृश्य युकीका लागि नयाँ होइन। उनी हरेक जितलाई नेपालको नामसँग जोडेर मनाउँछन्। विदेशको क्याजमा जितेपछि नेपाली झण्डा बोकेर उभिनु उनको यात्राको स्थायी दृश्यजस्तै बनेको छ। चीनमा पनि उनले त्यही गरे।
त्यो क्षणमा उनी केवल एउटा फाइटर थिएनन्। नेपालबाट टाढा, विदेशी भूमिमा नेपालको नाम बोकेर उभिएको एउटा नेपाली थिए। पछिल्लो जितसँगै युकीको व्यावसायिक एमएमए करियरमा नवौँ जित थपिएको छ। लगातार तेस्रो जितसहित उनको व्यावसायिक रेकर्ड ९ जित र ३ हार पुगेको छ। तर युकीको कथा आजको जितबाट सुरु भएको होइन।
क्रिकेटदेखि क्याजसम्म
युकी आङ्देम्बेको जन्म नेपालमा भयो। दमकमा जन्मिएका उनी पछि बेलायतमा हुर्किए। बाल्यकालमा उनको रुचि क्रिकेटमा थियो। ब्याट, बल र मैदान उनका लागि परिचित संसार थियो। तर समयसँगै खेलप्रतिको उनको बाटो बदलियो। विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उनको रुचि एमएमातर्फ बढ्न थाल्यो। सुरुमा एउटा नयाँ खेलप्रतिको आकर्षण थियो। त्यसपछि त्यही आकर्षण गम्भीर बन्दै गयो। अन्ततः उनले एमएमालाई सोखबाट व्यावसायिक करियरतर्फ लैजाने निर्णय गरे। उपलब्ध खेल रेकर्डअनुसार युकीको एमेच्योर एमएमए यात्रा सन् २०१६ बाट सुरु भएको देखिन्छ। उनले एमेच्योर चरणमा ७ जित र २ हारको रेकर्ड बनाए। त्यसले उनलाई व्यावसायिक क्याजका लागि तयार गर्यो। क्रिकेटको मैदानबाट सुरु भएको खेलयात्रा अब यस्तो खेलतर्फ मोडिइसकेको थियो, जहाँ एक क्षणको गल्तीले खेलको परिणाम बदलिन सक्छ।
.jpg)
पहिलो फाइट, पहिलो हार
व्यावसायिक यात्राको सुरुवात भने जितबाट भएन। १० डिसेम्बर २०२१ मा ‘केज वारियर्स’को १३१औँ संस्करणबाट व्यावसायिक डेब्यु गरेका युकी पहिलो राउन्डमै लुक राइलीसँग प्राविधिक नकआउटमार्फत पराजित भए। पहिलो पाइला नै हारमा टुंगिएको थियो। तर हारपछि रोकिनु युकीको स्वभाव बनेन। उनले प्रशिक्षणलाई निरन्तरता दिए। आफ्नो कमजोरीमा काम गरे। खेलमा सुधार ल्याए। फेरि क्याजमा फर्किए।एमएमामा हार अन्तिम बिन्दु हुँदैन। अर्को फाइटका लागि अझ बलियो बन्ने एउटा पाठ पनि हुन सक्छ। युकीको यात्राले त्यही देखाउँदै गयो।
हार र जितबीचको बाटो
उनको व्यावसायिक करियरमा जितका साथै हार पनि आए। लुक राइलीपछि मोज्तबा नासिरी र बेन वाट्सनसँगका पराजयले उनलाई फेरि चुनौती दिए। तर प्रत्येक हारपछि उनी फेरि क्याजमा फर्किए।‘केज वारियर्स’, ‘ब्राभ सीएफ’, ‘इटर्नल एमएमए’, ‘मेट्रिक्स फाइट नाइट’, ‘सोमा फाइट सिरिज’ र ‘नेपाल वारियर्स च्याम्पियनसिप’ जस्ता विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दै उनले आफ्नो अनुभव र परिचय दुवै फराकिलो बनाए। नेपालमा आयोजित प्रतियोगितामा घरेलु दर्शकसामु उत्रिँदा होस् वा विदेशी भूमिमा, उनको खेल एउटै लक्ष्यतर्फ अघि बढिरह्यो(आफूलाई हरेक फाइटसँगै अझ राम्रो बनाउने। २०२५ का केही कठिन नतिजापछि २०२६ मा भने उनको करियरले फेरि लय समात्यो। फेब्रुअरीमा उनले याकुब क्रिस्ट नुग्रोहोलाई पराजित गरे। त्यसपछि भारतमा भएको ‘मेट्रिक्स फाइट नाइट–१८’ मा मन्दीप प्रजापतिलाई पहिलो राउन्डमै आत्मसमर्पण गराएर हराए। लगातार आएका यी सफलताले उनलाई चीनसम्म पुर्यायो। र चीनमा पनि कथा दोहोरियो-क्याजमा प्रतिस्पर्धा, तीन राउन्डको संघर्ष र अन्त्यमा नेपालको झण्डासहित जितको उत्सव।
बालीको जिम र गोर्खाको पहिचान
आज युकीको खेलजीवनसँग गाँसिएको अर्को महत्त्वपूर्ण नाम हो( इन्डोनेसियाको बालीस्थित सोमा फाइट क्लब।करिब पाँच वर्षदेखि उनी बालीमा नियमित प्रशिक्षण गरिरहेका छन्। विभिन्न देशका फाइटरसँग प्रशिक्षण गर्ने वातावरणले उनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि आफूलाई तयार गर्ने अवसर दिएको छ। यही जिममा अर्का नेपाली फाइटर रवीन्द्र ढाँट पनि प्रशिक्षण गर्छन्। एउटै प्रशिक्षणस्थलबाट दुई नेपाली फाइटर अन्तर्राष्ट्रिय एमएमएको यात्रामा अघि बढिरहेका छन्। युकीका लागि प्रशिक्षण केवल शरीरलाई बलियो बनाउने अभ्यास होइन। यो आफ्नो खेल र पहिचानलाई अझ बलियो बनाउने यात्रा पनि हो।
.jpg)
बालीस्थित प्रशिक्षण केन्द्रमा सहकर्मी फाइटरसँग युकी आङ्देम्बे।
उनको उपनाम हो-‘द गोर्खा’।
विदेशी क्याजमा उत्रँदा यही नामले उनलाई चिनिन्छ। हरेक जितपछि नेपालको झण्डा बोकेर उभिँदा त्यो उपनामले अझ अर्थ पाउँछ। जितपछि झण्डा बोक्नु उनका लागि औपचारिकता मात्र होइन। त्यो उनको पहिचानको हिस्सा बनेको छ। जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ नेपाललाई पनि सँगै लैजान खोज्छन्।
हरेक जितपछि नेपाल
कुनै फाइटरको जितपछि क्याज वरिपरि उत्सवको माहोल बन्नु सामान्य दृश्य हो। तर युकीको उत्सवमा एउटा कुरा बारम्बार दोहोरिन्छ-नेपालको झण्डा। चाहे भारत होस्, चीन होस् वा अर्को कुनै विदेशी भूमि, जितपछि नेपाली झण्डा काँधमा बेरेर उनी खुसी मनाउँछन्। एकछिनअघि विपक्षीसँग कठोर भिडन्त गरिरहेका युकी जितपछि भने फरक देखिन्छन्। अनुहारमा मुस्कान हुन्छ। शरीरमा नेपालको झण्डा हुन्छ। उनको वरिपरि नेपालीपनको एउटा दृश्य तयार हुन्छ। यही दृश्य उनका समर्थकका लागि पनि उनको खेलको एउटा छुट्टै पहिचान बनेको छ। क्याजभित्र उनी आफ्नो लागि लड्छन्। तर क्याजबाहिर निस्कँदा उनको जितमा नेपालको नाम पनि जोडिएको हुन्छ।
लक्ष्य यूएफसी
युकीको यात्रा क्षेत्रीय प्रतियोगितासम्म मात्र सीमित छैन।उनको नजर अझ ठूलो मञ्चमा छ(यूएफसी। विश्वकै चर्चित एमएमए संस्था पुग्ने लक्ष्य उनले सार्वजनिक रूपमा राख्दै आएका छन्। त्यसका लागि उनलाई अझ धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, अनुभव र निरन्तर सुधार आवश्यक छ। बालीको प्रशिक्षण, विभिन्न देशका फाइटरसँगको अभ्यास र अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता त्यही यात्राको हिस्सा हुन्।
आज उनी ९ जित र ३ हारको व्यावसायिक रेकर्डमा छन्। तर उनको कथा रेकर्डको अंकमा मात्र अटाउँदैन। अझै बाँकी छ कथा दमकमा जन्मिएका एक बालक। बेलायतमा हुर्किए। बाल्यकालमा क्रिकेट खेले।विश्वविद्यालय पुगेपछि एमएमातर्फ मोडिए। २०१६ मा एमेच्योर क्याजमा प्रवेश गरे। २०२१ मा व्यावसायिक यात्रा सुरु गरे। पहिलो फाइटमै हारे। त्यसपछि फेरि उठे, फेरि लडे, फेरि जिते। आज बालीमा प्रशिक्षण गर्छन्। भारत र चीनजस्ता देशका क्याजमा उत्रिन्छन्। हरेक जितपछि नेपालको झण्डा बोक्छन्। युकी आङ्देम्बेको कथा यति मात्र होइन। यो कथा आफ्नो बाटो आफैं खोजेको एउटा नेपाली खेलाडीको कथा हो। क्रिकेटबाट एमएमासम्म आइपुगेको एउटा यात्राको कथा हो। हारलाई पार गर्दै अन्तर्राष्ट्रिय क्याजमा आफ्नो ठाउँ बनाउँदै गरेको एउटा नेपालीको कथा हो।
र हरेक जितपछि नेपालको झण्डामा आफूलाई बेरेर उभिने एउटा फाइटरको कथा हो। क्याजमा उनी विपक्षीसँग भिड्छन्। क्याजबाहिर निस्कँदा भने नेपालको झण्डासँगै मुस्कुराउँछन्। युकी आङ्देम्बे—‘द गोर्खा’।उनको कथा अहिले ९ जितमा पुगेको छ। तर कथा सकिएको छैन। सबैभन्दा ठूलो क्याज अझै बाँकी छ........।
.gif)

.png)

