‘नेपाल सुरक्षित छ’ भन्ने सन्देशसँगै बढ्दै विदेशी पर्यटकको आगमन
बंगलादेशबाट १८५ जनाको टोली आयो
काठमाडौं : रसुवा भोटेकोशी प्राकृतिक विपद्पछि नेपालको पर्यटन सुरक्षाबारे अन्तर्राष्ट्रिय बजारमा देखिएको चासोकाबीच विदेशी पर्यटक तथा कर्पोरेट टोलीको आगमनले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानपछि बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ जना प्रतिनिधि नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक तथा प्रवक्ता सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी टोलीलाई खादा तथा ढाका टोपी लगाएर स्वागत गरेका थिए।
.jpeg)
गत भदौ १० गते चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि नेपालको पर्यटन सुरक्षाबारे विभिन्न चर्चा भएका थिए। त्यसपछि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसम्बद्ध संस्थाले रसुवा, गोरखा र नुवाकोटका केही प्रभावित क्षेत्रबाहेक देशका अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्दै आएका छन्।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक शर्माका अनुसार प्राकृतिक विपद्पछि पनि यति ठूलो कर्पोरेट टोली नेपाल आउनुले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ। बंगलादेशी पाहुनाहरूले नेपाल पर्यटन बोर्डको स्वागतप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला तथा आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अन्य पर्यटकलाई समेत नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। वाल्टन प्लाजाको भ्रमणले नेपाल र बंगलादेशबीचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
.jpeg)
श्रीलंकाबाट पनि १३३ जनाको टोली आउँदै
यसैबीच श्रीलंकाका दुई पर्यटनसम्बन्धी संस्थाबाट १३३ जनाको टोली बिहीबार नेपाल आउने भएको छ। आईटा एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाका प्रतिनिधिहरू वार्षिक साधारणसभाका लागि नेपाल आउन लागेका हुन्।
उनीहरूले सेप्टेम्बर १७ देखि २० सम्म काठमाडौंसहित नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, भारतसहित सार्क मुलुकका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहेका छन्। उनीहरूले नेपाल सुरक्षित रहेको सन्देशसहितका तस्बिर तथा सामग्री सार्वजनिक गर्दै आएका छन्।
विदेशी पर्यटक तथा कर्पोरेट समूहको निरन्तर आगमनले हालैको विपद्पछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको संकेत गरेको पर्यटन व्यवसायीहरूको बुझाइ छ।
.jpeg)
.gif)

.png)

