बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा विशेष जोड
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा बंगलादेश फोटो पत्रकार संघका १२ जना फोटो पत्रकार नेपाल आइपुगेका छन्।
संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा नेपाल आएको उक्त टोलीले आगामी भदौ ३ गते विश्व फोटोग्राफी दिवसका अवसरमा नेपालमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछ।
भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकार टोलीले काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ‘ब्युटिफुल बंगलादेश’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ। उक्त प्रदर्शनीमार्फत बंगलादेशको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन तथा पर्यटनका विविध आकर्षक पक्षहरू नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछन्।
काठमाडौंको कार्यक्रमपछि उक्त टोली पोखरा र चितवनको तीनदिने भ्रमणमा निस्कने कार्यक्रम रहेको छ। नेपालका प्रमुख पर्यटकीय गन्तव्य मानिने पोखरा र चितवनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटन गतिविधि तथा स्थानीय जीवनशैलीलाई क्यामेरामा कैद गरी बंगलादेशका सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको निमन्त्रणामा बंगलादेशी टोली नेपाल आएको हो। अध्यक्ष वन्तका अनुसार बंगलादेश फोटो पत्रकार संघ र नेपालका फोटो पत्रकारहरूको संस्थाबीच विगत २१ वर्षदेखि निरन्तर भाइचारा, सहकार्य र आपसी सम्बन्ध रहिआएको छ।
दुई देशका फोटो पत्रकारबीच हुने यस्ता भ्रमण र तस्बिर आदानप्रदानका गतिविधिले नेपाल–बंगलादेश सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष वन्तले बताए। “फोटो पत्रकारितामार्फत एकअर्का देशका पर्यटन, संस्कृति, प्राकृतिक सौन्दर्य र जनजीवनलाई विश्वमाझ चिनाउन सकिन्छ। यसले दुई देशबीचको पर्यटन, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारमा ‘सफ्ट डिप्लोमेसी’ को काम गर्छ,” उनले भने।
यस्ता कार्यक्रमबाट नेपाल र बंगलादेश दुवै देशले एकअर्काको पर्यटन प्रवद्र्धनबाट लाभ लिन सक्ने विश्वास गरिएको छ। प्रत्यक्ष रूपमा भ्रमण गरी तयार पारिएका तस्बिर तथा दृश्य सामग्रीले दुवै देशका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा गरिएको छ।
एनएफपीजे नेपालले दुई देशका फोटो पत्रकारबीचको दुई दशकभन्दा लामो सम्बन्धलाई अझ सुदृढ गर्दै आगामी दिनमा पर्यटन, संस्कृति, पत्रकारिता तथा व्यावसायिक सहकार्यका क्षेत्रमा थप कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
.gif)

.png)

