एमाले बैठकमा रचना खड्काको प्रश्न : नेताहरू मिल्दैमा जनमत फर्किन्छ ?
काठमाडौं : नेकपा (एमाले)की केन्द्रीय सदस्य रचना खड्काले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको कमजोर परिणामलाई आधार बनाएर नेतृत्व, नीति, कार्यशैली र संगठन सञ्चालनको निर्मम समीक्षा गर्नुपर्ने बताएकी छन्।
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै खड्काले पार्टीको राजनीतिक कार्यदिशाको महत्त्वपूर्ण पक्ष नेता–कार्यकर्ता र पार्टी–जनताबाट अनुमोदित हुनुपर्ने बताइन्।
खड्काले पार्टीका नेताहरूबीच पुनः एकता हुने विषयमा आफूलाई चिन्ता नभएको बताउँदै नेतृत्वको एकताले मात्रै पछिल्लो निर्वाचन परिणाम बदल्न सक्ने हो कि होइन भन्ने प्रश्न समेत उठाइन्। ‘मलाई नेताहरू एकापसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन,’ उनले भनिन्, ‘तर चिन्ता के हो भने तपाईंहरूको एकताले मात्रै आजका दिनमा माथि उल्लेखित निर्वाचन परिणामलाई बदल्न सक्ला ?’
पछिल्लो निर्वाचनको परिणामलाई पार्टीको अवस्थाको वास्तविक ऐनाका रूपमा लिनुपर्ने उनको धारणा थियो। उनका अनुसार १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमालेले ९ स्थानमा मात्रै जित हासिल गरेको र समानुपातिकतर्फ १६ सिट पाएको स्मरण गराउँदै पराजितमध्ये १५ स्थानमा मात्रै पार्टी दोस्रो भएको र ४९ स्थानमा उम्मेदवारको जमानत जफत भएको नेताहरूलाई स्मरण गराइन्।
‘यो तथ्यभित्रको सत्य स्वीकार गरौँ,’ खड्काले बैठकमा भनिन्, ‘पार्टी अध्यक्ष स्वयं ५० हजार मतान्तरमा पराजित हुनुभयो र सचिवालयका एक जना सदस्यले पनि निर्वाचन जित्न सक्नुभएन।’
नेता खड्काले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि बनेको कार्यदलले यही तथ्यलाई केन्द्रमा राखेर एमालेको खस्कँदो जनमतका कारण खोज्नुपर्नेमा जोड दिइन्। पार्टीले गरेका निर्णय र अवलम्बन गरेको कार्यदिशाको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
कार्यदलको प्रतिवेदनलाई नेतृत्व परिवर्तनमा मात्रै केन्द्रित गरिएको जस्तो देखिएको भन्दै उनले पार्टीभित्रको छलफललाई व्यापक विषयमा लैजानुपर्ने बताइन्। कार्यदलको प्रतिवेदन नै केन्द्रीय कमिटी बैठकको मुख्य विषय हुनुपर्नेमा त्यसलाई बैठकमा प्रस्तुत नगर्नु ‘अत्यन्तै गलत निर्णय’ भएको उनको टिप्पणी थियो।
एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषयलाई मुख्य कार्यभारका रूपमा अघि सारिएकोप्रति नेता खड्काले असहमति जनाइन्।
२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि जनतामा घट्दै गएको पार्टीप्रतिको भरोसा र एमालेको ‘ओरालो यात्रा’लाई संसद् पुनर्स्थापनाको आन्दोलनले थप तीव्र बनाउने उनको दाबी छ। ‘यदि यस्तो गरियो भने आम जनतामा टुट्दै गएको हाम्रो भरोसा र ओरालो यात्रालाई यसले अझै तीव्र बनाउने मात्रै होइन, क्षतविक्षत बनाउनेछ,’ उनले भनिन्, ‘कृपया यतातर्फ नलागौँ।’
खड्काले पार्टीभित्र विचार, व्यवहार, जीवनशैली, कार्यशैली र पार्टी कामभन्दा नेतृत्वको प्रशंसा वा आलोचनालाई मात्रै मूल्याङ्कनको आधार बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन्।
उनले एजेन्डामा असहमति राख्दैमा पार्टी विभाजन गर्न खोजेको आरोप लगाउने प्रवृत्ति रोक्नुपर्ने धारणा राख्दै आन्तरिक प्रतिस्पर्धालाई नेतृत्वप्रतिको अनादरका रूपमा बुझ्न नहुने उनको भनाइ थियो। खड्काले एमालेको नेतृत्व तहमा पुस्तान्तरण र युवा प्रतिनिधित्वको विषय पनि उठाइन्।
१८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत तथा ५० वर्षमुनिका मतदाता करिब ६७ प्रतिशत रहेको उल्लेख गर्दै तर पार्टीको नीति निर्माण गर्ने अग्रपंक्तिमा यही ठूलो मतदाता समूहको प्रतिनिधित्व नगण्य रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराइन्। ‘यो तथ्यांक र हाम्रो अवस्था अस्वाभाविक छ,’ खड्काले भनिन्।
उनले केन्द्रीय सदस्यहरूलाई जनताले के भनिरहेका छन् र पार्टी पङ्क्तिको धारणा के छ भन्ने यथार्थ केन्द्रीय कमिटीमा राख्न प्रोत्साहित गर्नुपर्ने बताउँदै अन्यथा केन्द्रीय कमिटीका बैठकहरू जीवन्त बन्न नसक्ने बताइन्।
बैठकमा नेता खड्काले बदलिँदो राजनीतिक वातावरणमा डिजिटल प्लेटफर्मको प्रभावलाई पनि पार्टीले गम्भीर रूपमा बुझ्नुपर्ने बताइन्। आज जनमत प्रकट हुने महत्त्वपूर्ण थलो डिजिटल प्लेटफर्म बनेको भन्दै उनले त्यहाँ उठेका विषयलाई घेराबन्दी वा षड्यन्त्रका रूपमा मात्रै बुझ्न नहुने बताइन्।
डिजिटल प्लेटफर्ममा व्यक्त गरिएका अभिव्यक्ति र गतिविधि अभिलेखका रूपमा रहने भएकाले पार्टीका नेता–कार्यकर्ताले सार्वजनिक गतिविधिमा थप संयमता अपनाउन आवश्यक रहेको उनको सुझाव थियो। खड्काले भनिन्, ‘डिजिटल प्लेटफर्मले जनमत निर्माणमा निर्णायक काम गर्छ भन्ने बुझौं।’
.gif)

.png)
