केन्द्रीय कमिटी बैठकमा रचना खड्काको आग्रह : अध्यक्ष ओली अभिभावक भएर बस्नुहोस्


२०८२ असोज ३१ शुक्रबार १०:०२ बजे

काठमाडौं :  नेकपा (एमाले)  केन्द्रीय सदस्य रचना खड्काले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अभिभावक बनेर बस्न सक्नुपर्ने बताएकी छिन् । केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले ओली अभिभावक बन्दा पार्टीलाई पुनर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्ने जिकिर गरिन् । ‘अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प हैनन् । उनीहरू षड्यन्त्रका पात्र मात्रै हुन्,’ उनले भनेकी छिन्, ‘एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ । अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ ।’

खड्काले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण समेत खुला गर्नुपर्ने बताइन् । ‘फौजदारी अभोयोग बाहेक अन्य विषयमा व्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु कसैका लागि पनि राम्रो नजीर हैन,’ उनले आफ्ना कुरा राख्ने क्रममा भनिन्, ‘पूर्व उपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिनुपर्छ ।’

अरुलाई मात्रै दोष देखाएर सही निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो । उनले पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले गर्नु सम्भव नभएको र उक्त कार्य न्यायपूर्ण नभएको पनि बताइन् । ‘प्रत्येक पुस्ताले देश र पार्टीको नेतृत्व गर्न पाउने अवसरलाई चिनियाँ कम्युनिष्ट पार्टीले कसरी व्यवस्थापन गरेको छ, पार्टी सदस्यमा बहुमत युवाहरूको व्यवस्थालाई कसरी कार्यान्वयन गरेको छ, एकपटक हेर्ने कि ?’

 धारणा: 

१. यो सामान्य अवस्थामा आयोजना गरिएको नियमित बैठक हैन, सङ्कटपूर्ण परिस्थितिमा आयोजित यो विशेष बैठकको मर्मलाई आत्मसात गर्दै वस्तुनिष्ट समीक्षाका आधारमा निर्णय गर्ने र कार्यान्वयन गर्ने हो भने यो परिस्थितिलाई अनुकूलतामा बदल्न सकिन्छ भन्ने विश्वास बैठक समक्ष व्यस्त गर्न चाहन्छु। यस अर्थमा अध्यक्षले प्रस्तुत गर्नु भएको प्रस्तावलाई पूर्ण बनाउन जरूरी ठन्दछु।

२. यो षड्यन्त्र हो तर यो अबस्था निर्माण हुनुमा हाम्रो आफ्नो कारनले पक्कै काम गरेको छ भन्ने कुरालाई स्वीकार गरौं। अन्त मात्रै दोष लगाएर सहि निष्कर्षमा पुग्न सकिन्न।

३. २०७७ को प्रतिनिधि सभाको विघटन र अहिलेको विघटनको अबस्था एउटै हुँदै हैन। संसद पुनस्थापनाको एजेन्डा एकल विकल्प हैन। तसर्थ यो सरकारको निर्वाचन गराउने हैसियत त देखिदैन तर एमाले निर्वाचनको पक्षमा छैन भन्ने सन्देश जानुहुन्न, हामी एक्लैले मात्रै चुनावमा नजाने कुरा गर्नै हुन्न। यो विषयमा कांग्रेससँगको सहकार्य अनिवार्य छ।

४. हाम्रो प्रधनान्तरविरोध र प्रधान शत्रु नै पार्टी भित्रै छ जस्तो गरि गर्ने व्यवहार र प्रस्तुत हुने नेतृत्व पङ्क्तिको शैलीले बाहिरी खतराहरूलाई देख्नै सकेन। र यी खतराहरूका विषयमा पार्टी पङ्तिलाई सही ढंगले परिचालन गर्ने योजना नै बनेन।

५. शोभियत सत्ता विकास नभएको हुनाले ढलेको हैन। मुलत: शुसाशन, नेता कार्यकर्ताको कार्यशैली, पार्टी र जनता बीचको सम्बन्ध नै प्रमुख कारण थियो। पश्चिम बङ्गालको उदाहरण पनि हाम्रो सामु छ।

६, राजनीतिमा १० बर्षलाई एक पुस्ता मान्ने हो भने प्रत्येक पुस्ताले देश र पार्टीको नेतृत्व गर्ने अबसर निर्माण गर्नुपर्छ। पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले मात्रै गरिरहन सन्भव छैन र यो न्यायपुर्ण पनि हैन। प्रतेक पुस्ताले देश र पार्टीको नेतृत्व गर्न पाउने अबसरलाई चिनियाँ कम्युनिस्ट पार्टीले कसरी व्यवस्थापन गरेको छ, पार्टी सदस्यमा बहुमत युवाहरूको व्यवस्थालाई कसरी कार्यान्वयन गरेको छ एकपटक हेर्ने कि?

७. परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौतीसँग सामना गरी पार्टीलाई बलियो बनाउनका लागि विधानमा दुई कार्यकाल र उमेर हदलाई पुनव्यवस्था गरेर जानुपर्दछ। अन्यथा एकपटक नेतृत्वमा पुगेपछि सकुन्जेल र बाचुन्जेल, पार्टी अस्थायी व्यक्ति स्थायी जस्तो चिन्तनको  विकास हुँदो रहेछ।

८. अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन् ती कुनै विकल्प हैनन्। उनीहरू षड्यन्त्रका पात्र मात्र हुन्। एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ, अब कमरेड अध्यक्ष पार्टीकोअभिभावक बनेर बस्नुपर्छ यसले कमरेडले पार्टी र देश निर्माणमा गर्नु भएको योगदानलाई जीवित राख्न र पार्टीलाई पुर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्नेछ।

९. जनतामा पार्टीको लोकतान्त्रिक छवि कमजोर हुँदै गएको छ। फौजदारी अभोयोग बाहेक अन्य विषयमा व्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु कसैका लागि पनि राम्रो नजिर हैन। पूर्व उपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिदिनुपर्दछ।

१०. मेरा यी कुराहरु अघिल्लो पङ्क्तिमा बस्ने तेता कमरेडहरुलाई मन नपर्न सक्छ, यस्ता कुरा गर्ने रचना खड्का पार्टीमा किन चाहियो भन्ने सम्म लाग्न सक्छ, जो जोलाई यस्तो लाग्छ आफ्नो घरमा भएको ठुलो ऐनाको अगाडि गएर उभिनुस जे देख्नुहुन्छ त्यही हो पार्टीको सबै भन्दा ठूलो समस्या।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७