बाढीपीडितसम्म सरकार पुगेन, सामाजिक सञ्जालमा ‘भयंकर भिजिबिलिटी’ : रामकुमारी झाँक्री
काठमाडौं : नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छन्। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले विपद्का बेला सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको बताइन्।
सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचारमा व्यस्त भए पनि विपद् प्रभावित नागरिकले ‘सरकार आफूसँगै छ’ भन्ने अनुभूति गर्न नसकेको उनको भनाइ छ। उनले विपद्का बेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजामती प्रशासनले गरेको काम भने प्रशंसनीय रहेको बताइन्।
सामाजिक सञ्जालमा सरकारको कामभन्दा प्रचार बढी देखिएको टिप्पणी गर्दै झाँक्रीले भनिन्, ‘सोसल मिडियामा भयंकर भिजिबिलिटी छ। सोसल मिडियाका अल्गोरिदमहरू चुनावजस्तै हाइपमा छन्। तर सरकारका समर्थक, कार्यकर्ता र नेताहरूले के लेखिरहेका छन्, के सन्देश दिइरहेका छन् भन्ने कुराले पनि सरकार कति प्रभावकारी रूपमा काम गरिरहेको छ भन्ने देखाउँछ।’
उनले केही सांसदले उद्धारका क्रममा मानिसलाई बोकेको फोटो र हेलिकप्टर चढेको सेल्फी सामाजिक सञ्जालमा राखेको तथा मन्त्रीहरूले अरूका तस्वीरसमेत प्रयोग गरेर प्रचार गरेको भन्दै आलोचना गरिन्।
जलवायु परिवर्तनका कारण आगामी दिनमा अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै झाँक्रीले सरकार र नागरिक दुवैले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा थप ध्यान दिनुपर्ने बताइन्। एमालेले प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा राहतका कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले जानकारी दिइन्।
.gif)

.png)

