एनपीएलमा प्लेअफ पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स
काठमाडौं : साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ ।
बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफ यात्रा पक्का गरेको हो । कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कठिन बनेको छ । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछिका चार खेलमा पराजित भएको हो । ६ खेलबाट चार अंक जोडेको कर्णाली सातौं स्थानमा छ ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउन चार रनले चुकेका उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । दिलीप नाथले अविजित २८ रन बनाए ।
लुम्बिनीले सुरुवातमै विकेट गुमाएको थियो । आसिफ पौडेल र कप्तान रोहित पौडेल समान एक तथा सन्दीप जोराले चार रन बनाएर आउट हुँदा टोली १९ रनमै तीन विकेटको क्षतिमा पुगेको थियो ।
त्यसपछि सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । डिकवेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए । सर्ट आउट भएपछि दिलीप नाथले इनिङ्स सम्हाले । शमिम हुसेन पाँच रनमा आउट भए पनि नाथले २७ बलमा चार चौकासहित अविजित २८ रन बनाए । उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे ।
कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए ।
.jpeg)
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अलआउट भएको थियो । उसका लागि सोमपाल कामीले १८ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २४ र गुल्सन झाले १३ रन जोडे । पवन सर्राफले १२ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दीपेन्द्र रावत खाता नखोली आउट भए भने अरिफुल इस्लाम र दीपक डुम्रेले समान चार, कप्तान डेभिड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन बनाए ।
१५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गरेका थिए । तर, त्यसपछि नियमित विकेट गुमाउँदा टोली सामान्य योगफलमै समेटियो ।
लुम्बिनीका अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे ।
.gif)

.png)




