भीमफेदी ईभी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिलाई दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।
समितिले दुर्घटनाका विभिन्न पक्षको अध्ययन गर्नेछ । सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको अवस्था र सडकको भौतिक अवस्थाबारे छानबिन गरिने प्रजिअ अधिकारीले बताए ।
दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत प्रतिवेदनमा समेटिनेब बताइएको छ ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । उनका अनुसार सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त छैन ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
.gif)

.png)




