धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
काठमाडौँ : धादिङमा भएको बस दुर्घटनापछि गृह मन्त्रालयले औपचारिक छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले घटनाको तथ्यगत यथार्थ पत्ता लगाउन समिति गठन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारी सहभागी रहेको जनाइएको छ ।
छलफलका क्रममा दुर्घटनाको कारण, पूर्वतयारी अवस्था, सडक सुरक्षा मापदण्ड र नियामक निकायको भूमिकालगायत समग्र पक्षको अध्ययन आवश्यक ठहर गरिएको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार, पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रबाट सडक किनार झर्दै त्रिशूली नदी किनारमा पुगेको थियो ।
दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको र एक जनाको उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको छ।
घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार नेशनल अस्पतालमा एक महिलासहित १० जना भर्ना भएका छन्। त्यसैगरी ट्रमा सेन्टरमा १५ जनालाई ल्याइएकोमा एक युवकको उपचारका क्रममा मृत्यु भएको तथा अन्य १४ जनाको उपचार भइरहेको छ।
सरकारले निष्पक्ष र तथ्यपरक छानबिनमार्फत उत्तरदायित्व निर्धारण गर्ने र आगामी दिनमा यस्ता दुर्घटना न्यूनिकरणका उपाय पहिचान गर्ने प्रतिबद्धता जनाएको छ।
.gif)

.png)

