६ जिल्लालाई सतर्क र ११ जिल्लालाई सतर्कता अपनाउन गृह मन्त्रालयको निर्देशन
गर्मीले ४० डिग्री नाघ्ने चेतावनी, बालकालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्न सुझाव
काठमाडौँः नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा अत्यधिक गर्मी र तातो हावा (लू) चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले २०८३ जेठ ८ गते साँझ जारी गरेको विशेष बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले यस्तो चेतावनी दिएको हो।
प्राधिकरणका अनुसार जेठ ६ गतेदेखि नै देशका तराई भू-भागमा तापक्रम तीव्र गतिमा बढिरहेको छ। आज जेठ ९ गते शनिबारदेखि आगामी तीन दिनसम्म (पर्सीसम्म) दिउँसोको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने प्रक्षेपण गरिएको छ। ती क्षेत्रका थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने र 'तातो लहर' चल्ने जोखिम रहेको छ।
बढ्दो तापक्रम र तातो हावाका कारण सर्वसाधारणको स्वास्थ्यमा सामान्यदेखि गम्भीर प्रकृतिका समस्याहरू देखिन सक्ने भएकाले प्राधिकरणले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। साथै, विपद् व्यवस्थापनसँग जोडिएका सम्पूर्ण सरोकारवाला निकायहरूलाई सम्भावित जोखिमको सामना गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशित गरिएको छ।
प्राधिकरणले तराई तथा पहाडी क्षेत्रका जिल्लाहरूलाई जोखिमका आधारमा वर्गीकरण गरेको छ। जसअनुसार दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर गरी ६ वटा जिल्लालाई 'सतर्क रहनुपर्ने जिल्ला' को सूचीमा राखिएको छ। यसैगरी कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी गरी ११ वटा जिल्लालाई 'अद्यावधिक रहनुपर्ने जिल्ला' का रूपमा वर्गीकरण गरिएको छ।
अत्यधिक गर्मीका कारण मानव शरीरमा थकान लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने र टाउको दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्। यसका साथै खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्याहरू समेत आउन सक्ने प्राधिकरणले जनाएको छ।
तातो हावाको लहर (लू) बाट जोगिनका लागि प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले विभिन्न उपयोगी सुझावहरू दिएका छन्। उनका अनुसार टन्टलापुर घाम लागेको बेला वा दिउँसोको समयमा सम्भव भएसम्म घरभित्रै बस्नुपर्दछ। यदि अत्यावश्यक कामले बाहिर निस्कनै परेमा छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्नुपर्दछ। शरीरलाई शीतल राख्न खुकुलो र हल्का रङका कपडाहरू लगाउन तथा चिसो पानीले बेलाबेलामा नुहाउन सुझाव दिइएको छ।
यसैगरी, स्वास्थ्यलाई ध्यानमा राख्दै धेरै पानी पिउन, धेरै चिनी नहालेको सर्वत, कागती पानी र ताजा फलफूल खान भनिएको छ। धेरै पसिना आएको अवस्थामा जीवनजल पिउनु उपयुक्त हुन्छ। घरमै तयार पारिएको ताजा खाना खान र बजारिया पत्रु खाना बाट टाढै रहन आग्रह गरिएको छ। खेतीपाती वा बाहिरको काम गर्दा बिहान गर्मी बढ्नुअघि वा दिउँसो शितल भएपछि मात्रै गर्न र बालबालिकाहरूलाई चर्को घाममा खेल्न नदिन समेत भनिएको छ।
गर्मी र तातो हावाले ज्येष्ठ नागरिक, मुटु, फोक्सो र मृगौलासम्बन्धी दीर्घकालीन रोग भएका मानिसहरूलाई छिटो असर गर्ने भएकाले उनीहरूको विशेष ध्यान दिन आवश्यक छ। यदि कसैलाई स्वास्थ्यमा समस्या देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य चौकी वा अस्पताल लैजान प्राधिकरणले अनुरोध गरेको छ।
.gif)

.png)

