कार्यविधिविपरीत खटिएका पीएसओलाई ७ दिन भित्र दरबन्दीमा फर्काउन गृहको निर्देशन
व्यक्तिगत र घरायसी काममा लगाइएका सुरक्षाकर्मी फिर्ता गर्न ७ दिनको समय
काठमाडौं : गृह मन्त्रालयले मापदण्डविपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) का रूपमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेकै कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ ।
'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१' बमोजिम बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीहरूले पाउने पीएसओको स्पष्ट व्यवस्था बमोजिम सुरक्षाकर्मी खटाउने गरिएकोमा पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधानविपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार कार्यविधिविपरीत खटाइएका वा राखिएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा फिर्ता पठाउन सुरक्षा निकायहरूलाई असोज २२ गते नै निर्देशन दिइएको छ ।
मन्त्रालयले निर्देशन र कार्यविधिविपरीत सुरक्षाकर्मी खटाउने अधिकृत तथा पदाधिकारीमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ । "सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भएविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई सात (७) दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन मिति २०८३।०६।२२ मा निर्देशन भैसकेको छ," गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै, सुरक्षाकर्मीलाई कानुनविपरीत व्यक्तिगत वा घरायसी काममा प्रयोग गरिएको पाइएमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ । यसका लागि गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा सम्पर्क गरी जानकारी वा उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।
.gif)

.png)


