गृह मन्त्रालय प्रधानमन्त्रीले तत्काल आफूसँगै राख्ने
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। गुरुङको राजीनामासँगै रिक्त रहेको गृह मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै सम्हाल्ने भएका हुन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार, गृहमन्त्री गुरुङले आजै प्रधानमन्त्री निवासमा पुगेर प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका थिए। प्रधानमन्त्रीले उक्त राजीनामा स्वीकृत गरिसकेका छन्।
प्रेस विज्ञ दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन् ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको छ। राजीनामा स्वीकृत भएसँगै तत्कालका लागि गृह मन्त्रालयको दैनिक कार्यसम्पादन र जिम्मेवारी प्रधानमन्त्रीज्यू आफैँले हेर्ने निर्णय भएको छ।’
विवादपछि गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनको भनाई छ । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । उनले भनेका थिए, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।’
.gif)

.png)

