प्रधानमन्त्रीलाई पहिलोपटक सभामुखको रुलिङ
प्रधानमन्त्रीसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी दलका सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
‘प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जवाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।
सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेपछि विपक्षी दलका सांसदहरूले समर्थन जनाएका थिए। विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रुलिङ गरिसकेको भन्दै सभामुख अर्यालले अब सभा सञ्चालनमा सहयोग गर्नसमेत आग्रह गरे। प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ।
यसैबीच, प्रधानमन्त्री शाहसँग आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख अर्यालले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन्।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक–एक जना सांसदले प्रश्न गर्नेछन् भने बाँकी आठ जना सांसद दलको हैसियतअनुसार छनोट हुनेछन्। यसअनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तुलनात्मक रूपमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अवसर पाउनेछन्।
.gif)

.png)

