बालेन शाहको नियत राम्रो देखिएन: प्रचण्ड

सरकार सदन छलेर अध्यादेशको बाटोमा जानु लाजमर्दो


२०८३ जेठ ३ आइतबार १०:५३ बजे

काठमाडौँः नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार र देशको राजनीति गलत दिशामा गइरहेको आरोप लगाएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि चौतर्फी संशय उत्पन्न भएकाले समर्थन गर्न नसकिने स्पष्ट शब्दमा भनेका छन्।

प्रचण्डले सुकुम्बासीको समस्या अझै जस्ताको तस्तै रहेको औँल्याए। उनले भनेका छन्, 'सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ। ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदैछन्।'

संविधान संशोधनका लागि सरकारले तयार गर्न लागेको बहसपत्रमाथि पनि उनले प्रश्न उठाएका छन्। उनले भनेका छन्, 'त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन, त्यो आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराखेको छ।'

प्रधानमन्त्री बालेन शाहको नियत नै सफा नभएको आरोप लगाउँदै प्रचण्डले सरकारको अध्यादेश ल्याउने शैलीमाथि कडा प्रहार गरेका छन्। उनले भनेका छन्, 'आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो, त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ।'

प्रचण्डले सुरुमा सरकारका कतिपय योजना ठिकै लागेर मोटामोटी समर्थन गर्ने मनस्थिति बनाएको बताए। तर समय बित्दै जाँदा सरकारका गतिविधि हेर्दा समर्थन गर्न लायक कुनै काम नदेखिएको उनले स्पष्ट पारे।

उनले भनेका छन्, 'बरु विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट पनि आवाज उठाउनुपर्ने धेरै कुरा देखिन गएका छन्। मैले त सदनमा सरकारलाई अलिकति सतर्क हुनको निम्ति सुझाव दिएको छु।'

लोकतन्त्र सुदृढ गर्न र संविधान रक्षाका लागि सरकारले सही कदम चालेमा रचनात्मक सहयोग गर्ने उनले बताए। तर सरकारले औँल्याइएका त्रुटिहरूलाई गम्भीरतापूर्वक नलिई आफूलाई नसच्याएमा भने आगामी दिनमा चौतर्फी सशक्त प्रतिवादको सामना गर्नुपर्ने चेतावनी पनि प्रचण्डले दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७