प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता
काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सोमबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। प्रधानसेनापति सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका भारतीय सेनाध्यक्ष सेठले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। त्यसपछि उनले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहमा गार्ड अफ अनर ग्रहण गरेका थिए।
सेठले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। सो अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीचको परम्परागत सैन्य सम्बन्धअनुसार दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहँदै आएको छ।
.gif)

.png)

