भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाली सेनाका उच्च अधिकारी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।

तीनदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन्।
जंगी अड्डामा आयोजित कार्यक्रममा उनले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सैनिक तथा स्वास्थ्य सामग्रीको विवरण भने निश्चित हुन बाँकी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
त्यसअघि भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए। उनले प्रधानसेनापति सिग्देलसँग जंगी अड्डामा शिष्टाचार भेटवार्तासमेत गरेका छन्।
नेपाल भ्रमणका क्रममा सेठले सैनिक मञ्च टुँडिखेलमा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। जंगी अड्डामा उनलाई नेपाली सेनाले गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।
.gif)

.png)

