आफ्नै नेता तथा कार्यकर्तामाथि ओलीको निरन्तर दुर्वचन : ‘आवारा’, ‘किर्ना’देखि ‘सडकछाप’सम्म

ओलीले पार्ट पुनर्गठनको माग गरिरहेका आफ्नै नेता–कार्यकर्तामाथि लगातार तुच्छ टिप्पणी जारी राखेका छन् ।


२०८३ भदौ १ सोमबार १२:०६ बजे

काठमाडौं :  २१ फागुनको निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको माग गरिरहेका आफ्नै नेता–कार्यकर्तामाथि लगातार कटु टिप्पणी गरेका छन्।

झापामा दुई दिनको अवधिमा भएका विभिन्न कार्यक्रममा ओलीले आफूविरुद्ध आवाज उठाइरहेका नेता–कार्यकर्तालाई लक्षित गर्दै ‘आवारा’, ‘उरन्ठेउला’, ‘सडकछाप’ र ‘किर्ना’जस्ता शब्द प्रयोग गरेका छन्। पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुनर्गठन र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा चलिरहेका बेला अध्यक्ष ओलीका यी अभिव्यक्ति सार्वजनिक भएका हुन्।

शनिबार झापामा आयोजित कार्यक्रममा ओलीले पार्टी नेतृत्वको राजीनामा र पुनर्गठनको माग गर्नेहरूलाई ‘आवारा’को संज्ञा दिए। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनमा नेतृत्व पुनर्गठन तथा पद छाड्नुपर्ने विषयसमेत समेटिएपछि ओलीले त्यसप्रति असन्तुष्टि जनाउँदै ‘होल्ड’ राखेका छन्। सोही सन्दर्भमा उनले पार्टीभित्र अध्यक्ष हटाउने अभियान चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्नेहरूलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीनता र अराजकता बढेको टिप्पणी गरे। ‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ। पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्। अध्यक्ष हटाउने कुरा ठट्टा हो? पार्टी सदस्य छ कि छैन? उरन्ठेउलाहरू भेला भएका छन्,’ ओलीले भने।

उनले आफूलाई अध्यक्षबाट हटाउने विषयमा हस्ताक्षर गर्दै हिँड्नेहरूमाथि पनि प्रश्न उठाए। ‘चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्। के मजाक हो यो? कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिँडेको छ। त्यसका पछाडि केही दम छैन,’ ओलीले भने। उनका अनुसार पार्टीमा नेतृत्व परिवर्तनका लागि निश्चित विधि, प्रक्रिया र समय हुन्छ। भर्खरै महाधिवेशन सम्पन्न भएको अवस्थामा अध्यक्ष हटाउने बहस गर्नु उपयुक्त नभएको उनको तर्क थियो।

ओलीले आफूविरुद्धको अभियानलाई पार्टीभित्रको स्वाभाविक बहसका रूपमा स्वीकार गर्नुको सट्टा त्यसलाई ‘बेकारका कुरा’को संज्ञा दिए। विपक्षीले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला एमाले एकजुट भएर त्यसको सामना गर्नुपर्नेमा आफ्नै नेता–कार्यकर्ता अध्यक्ष हटाउने अभियानमा लाग्नु गलत भएको उनको भनाइ थियो। ‘जति बेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिवेला अध्यक्ष हटाउँछ भनेको छ। तर, केही हुनेवाला छैन। यी सबै बेकारका कुरा हुन्,’ उनले भने।

त्यसपछि ओलीले पार्टीभित्रको अर्को असन्तुष्टिमाथि पनि टिप्पणी गरे। उनले एमाले नफुट्ने र नबिग्रिने दाबी गर्दै कार्यकर्तालाई इमानदार बन्न आग्रह गरे। निर्वाचनमा पार्टीको मत घट्नुको कारण पार्टीभित्रै रहेका केही व्यक्तिको व्यवहार भएको उनको संकेत थियो।

ओलीले विगतमा एमाले विभाजन हुँदा पनि पार्टीले सर्वाधिक लोकप्रिय मत ल्याएको दाबी गरे। तर यसपटक पार्टी नफुट्दा पनि लोकप्रिय मत २८ लाखबाट घटेर १४ लाखमा सीमित भएको उनले बताए। पार्टीको चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै उनले एमालेमा बसेर अन्य दललाई मतदान गर्नेहरूलाई कार्यकर्ता मान्न नसकिने तर्क गरे।

‘पार्टी नबदल्ने रे, भोट अन्त हाल्ने रे। अन्त भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुन्छ? अन्त भोट हाल्ने कार्यकर्ता यस पार्टीको हुने?’ ओलीले प्रश्न गरे। त्यसपछि उनले व्यंग्यात्मक शैलीमा भने, ‘हलो अर्काको जोत्ने, भात यहाँ खाने? पद यहाँ चाहिने, काम अर्काको गर्ने?’

झापाको फिक्कलबाट बिर्तामोड पुगेपछि पनि ओलीको निशाना पार्टी पुनर्गठनको अभियान चलाइरहेका नेता–कार्यकर्तामाथि नै रह्यो। यसपटक उनले पुनर्गठनको माग गर्नेहरूलाई ‘किर्ना’सँग तुलना गरे। एमालेबाट पर्याप्त लाभ लिएका केही व्यक्तिहरू अहिले पार्टी पुनर्गठनको नाममा सक्रिय भएको उनको आरोप थियो।

‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ ओलीले भने। उनले एमालेबाट ‘पर्याप्त खान पाएका’ व्यक्तिहरूले नै अहिले गुनासो गरिरहेको दाबी गरे। ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्। बरु केही नपाएकाले यसपटक पनि भोट हाले। केही पाएकाले यसपटक पनि भोट हालेनन्,’ उनले भने।

ओलीले पार्टीमा अवसर र जिम्मेवारी पाएका व्यक्तिहरू नै अहिले नेतृत्वविरुद्ध उभिएको संकेत गर्दै पुनर्गठनको अभियानप्रति असन्तुष्टि जनाए। यसक्रममा उनले आफूलाई अध्यक्षबाट हटाउने कुरा गर्नेहरूलाई अर्को संज्ञा दिए—‘सडकछाप’।

‘पुनर्गठनको चर्चा चलिरहेको छ। पुनर्गठन भनेको के हो? पुनर्गठन भनेको एउटा कुरा त म त्यति चर्चा पनि गर्न चाहन्नँ। अध्यक्ष हटाउने भन्ने एउटा कुरा छ नि, सडकछाप कुरा। यो कुरामा त म धेरै छलफल पनि गर्न चाहन्नँ,’ ओलीले भने।

दुई दिनको झापा बसाइमा ओलीले एउटै विषयलाई फरक–फरक कोणबाट उठाए—पार्टी पुनर्गठन, नेतृत्व परिवर्तन र आफूविरुद्ध उठिरहेको असन्तुष्टि। तर ती विषयमा उनले प्रयोग गरेका शब्द भने पटक–पटक विवादको विषय बन्ने खालका थिए।

पार्टीभित्र निर्वाचनको कमजोर परिणामको समीक्षा, नेतृत्वको भूमिकामाथि प्रश्न र पुनर्गठनको माग उठिरहेका बेला ओलीले भने आफ्नो नेतृत्वमाथिको प्रश्नलाई अस्वीकार गर्दै आएका छन्। उल्टै नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अनुशासनहीन, आवारा र पार्टीका लागि गम्भीर नभएका व्यक्तिका रूपमा चित्रित गरेका छन्।

ओलीका पछिल्ला अभिव्यक्तिले एमालेभित्र नेतृत्व र असन्तुष्ट पक्षबीचको दूरी कति गहिरिँदै गएको छ भन्ने पनि देखाउँछ। एकातिर पार्टी पुनर्गठनको मागसहित नेतृत्वमाथि प्रश्न उठिरहेको छ भने अर्कोतिर अध्यक्ष ओली त्यसलाई चुनौतीका रूपमा लिँदै आलोचक नेता–कार्यकर्तामाथि कडा शब्दमा प्रहार गरिरहेका छन्।

यसरी झापामा दुई दिनको अवधिमा ओलीका अभिव्यक्तिमा ‘आवारा’देखि ‘उरन्ठेउला’, ‘किर्ना’देखि ‘सडकछाप’सम्मका शब्द आए। पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्नेभन्दा त्यसविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ओलीका यी अभिव्यक्तिले एमालेभित्रको पुनर्गठन बहसलाई थप पेचिलो बनाउने देखिन्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७