मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन


२०८३ भदौ १ सोमबार ११:३२ बजे

विराटनगर :  विराटनगरस्थित जिल्ला कारागार मोरङका कैदीबन्दीले नाराबाजीसहित प्रदर्शन गरेका छन् । कारागारको ‘बी ब्लक’का कैदीबन्दीले आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्नेलगायतका माग राख्दै सोमबार बिहान कारागारको पूर्वी भागस्थित छतमा चढेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कैदीबन्दीले छतमा टायर लगेर बाल्नुका साथै केही तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ । मुढा बनाउन कारागारभित्र राखिएका टायर प्रयोग गरी आगजनीको प्रयास गरेपछि आगो निभाउन दमकलसमेत परिचालन गरिएको थियो ।

कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहानैदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको हो ।

एसपी कटुवालका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेला–बेलामा गरिने नियमित ‘सर्च अपरेसन’कै क्रममा कैदीबन्दी आन्दोलित भएका हुन् ।

खानतलासीका क्रममा गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरे पनि प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो । तर, कैदीबन्दीको तीव्र अवरोध र प्रदर्शनका कारण स्थिति थप जटिल बन्ने जोखिम देखिएपछि स्थानान्तरण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको प्रहरीले जनाएको छ ।

खानतलासी सकेर सुरक्षा टोली फर्किएपछि कारागार क्षेत्रको अवस्था सामान्य भइसकेको डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कारागार परिसरमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७