भारतले दैनिक ६५४ मेगावाटसम्म विद्युत् दिने


२०८३ भदौ ३० मंगलबार ०८:२४ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जालमार्फत भारतले नेपालको विद्युत् आवश्यकता पूरा गर्न उक्त परिमाणमा विद्युत् उपलब्ध गराउने जानकारी दिएका हुन्। उनका अनुसार बाढीका कारण नेपालका धेरै जलविद्युत् आयोजना प्रभावित भएकाले ऊर्जा क्षेत्रसहित द्विपक्षीय सहकार्यलाई थप सुदृढ गरिनेछ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ। स्वीकृतिअनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म नेपालले भारतबाट विद्युत् आयात गर्न सक्नेछ।

भारतको विद्युत् मन्त्रालयले कठिन परिस्थितिमा नेपालको विद्युत् आवश्यकता पूरा गर्न उक्त स्वीकृतिले सहयोग पुग्ने जनाएको छ। साथै, यसले लामो समयदेखि कायम भारत–नेपाल ऊर्जा सहकार्यलाई थप बलियो बनाउने मन्त्रालयको भनाइ छ। मन्त्रालयले डिसेम्बरमा अवस्थाको समीक्षा गरी जनवरीदेखि नेपालतर्फ निर्यात गरिने विद्युत्को परिमाणबारे पुनः निर्णय गर्ने जनाएको छ। गत अगस्ट २६ मा चीन–नेपाल सीमाको हिमाली क्षेत्रमा पहिरोसँगै आएको बाढीले नेपाल र तिब्बतमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट नेपालका कम्तीमा १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् भने ठूलो संख्यामा आयोजना कर्मचारीसमेत सम्पर्कविहीन छन्।

बाढीअघि नेपालको विद्युत् आवश्यकताको ठूलो हिस्सा जलविद्युत्बाटै पूरा हुँदै आएको थियो। अतिरिक्त विद्युत् भारततर्फ निर्यातसमेत हुँदै आएकोमा जलविद्युत् पूर्वाधारमा क्षति पुगेपछि अहिले नेपालले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आएको छ। बाढीमा परी हालसम्म १ हजार ३९६ जनाको शव फेला परेको र ४ हजार ८९ जना अझै बेपत्ता रहेको विवरण छ। बाढीबाट विस्थापित २ हजार ७८१ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघ तथा साझेदार संस्थाहरूले बाढी प्रभावितको सहयोगका लागि करिब ५ करोड अमेरिकी डलर आवश्यक पर्ने भन्दै सहयोगको अपिल गरेका छन्। यस्तै, नेपाली अधिकारीहरूले प्रारम्भिक पुनर्निर्माणका लागि कम्तीमा ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७